बारामा २ संक्रमितकाे मृत्यु

सेयर गर्नुहोस्
  • 4
    Shares

वीरगन्ज, भदाै ९
कोरोना भाइरस संक्रमणका कारण मंगलबार बाराका २ जनाको मृत्यु भएको छ । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुवर्ण गाउँपालिका–४ परशुरामपुरका ७२ वर्षीय र महागढीमाई नगरपालिका ४ दहियारटोल बस्ने ५९ वर्षीय पुरुषको मृत्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए ।

भदौ ६ गते कोरोना संक्रमण पुष्टि भएका ७२ वर्षीय वृद्ध घरमै आइसोलेसनमा थिए । स्वास्थ्यमा समस्या आएपछि भदौ ८ गते गण्डक कोभिड अस्पतालमा उपचारका लागि ल्याइएकोमा भदौ ९ गते मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको हो ।

त्यस्तै भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका महागढीमाइई नगरपालिकाका ५९ वर्षका पुरुष भदौ ५ गते गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए ।

दुवै तर्फ फोक्सोमा कडा खालको निमोनिया देखिएका उनलाई आईसीयूमा राखेर उपचारको क्रममा मंगलबार बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

‘स्वास्थ्य स्थिति गम्भीर भएपछि प्लाज्मा थेरापीका लागि तयारी हुँदै थियो’ संयोजक डा. सिंहले भने, ‘तर आजै बिहान एक्सपायर हुनुभयो ।’

योसँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ । जसमध्ये ३० जना पर्साका छन् ।