विराटनगरमा थप एक संक्रमितको मृत्यु , परिवारका ३ जनामा संक्रमण

सेयर गर्नुहोस्
  • 7
    Shares

विराटनगर भदाै ८,

विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत थप एक पुरुषको मृत्यु भएको छ।

वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले उपचारका लागि भर्ना गरिएका ६५ वर्षीय पुरुषको आइतबार राति करिब ९ बजे मृत्यु भएको पुष्टि गरे। विराटनगर महानगरपालिका ८ का ती पुरुषमा संक्रमणसँगै स्वासप्रस्वासमा समस्या रहेको उनले बताए।

परिवारका एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’का आधारमा उनको स्वाब नमूना संकलन गरिएको महानगरपालिका जनस्वाथ्य महाशाखाले जनाएको छ । महाशाखा प्रमुख रमेश कार्कीका अनुसार उनको भदौ ४ गते स्वाब संकलन गरिएको थियो।

आइतबार ७ गते दिउँसो पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै उनलाई बेलुका करिब ६ बजे कोभिड अस्पताल उपचारका लागि भर्ना गरिएको उनले जानकारी दिए।

मृतकका परिवारमा दुई वर्षीया नाबालिकासहित अरु तीनजनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ। मृतककी श्रीमती, २५ वर्षीया बुहारी र दुई वर्षीया नातिनीमा संक्रमण देखिएको हो।

स्वास्थ्य अवस्था सामान्य रहेका तीनैजना अहिले ‘होम आइसोलेशन’ मा छन्।

यससँगै विराटनगरको कोभिड उपचार केन्द्रमा उपचारका क्रममा दुईजना संक्रमितको मृत्यु भएको छ। विद्युत प्राधिकरणका प्राविधिक विराटनगर–३ का ५७ वर्षीय पुरुषको साउन २८ गते मृत्यु भएको थियो।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाका अनुसार महानगरमा हालसम्म ८ जना संक्रमितको मृत्यु भइसकेको छ ।