२४ घण्टामा सुनसरीकी ६ बर्षिय बालिका सहित ९ संक्रमितकाे मृत्यु

सेयर गर्नुहोस्

काठमाण्डाै, भदाै ६
नेपालमा पछिल्लो २४ घण्टामा ६३४ जना कोरोना संक्रमित थपिएको र ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मृत्यु भएका मध्ये सुनसरीका २ जना भएको बताए । उनले सुनसरीमा ६ बर्षीय बालिका र ६७ बर्षीय एक पुरुषको मृत्यु भएको जानकारी दिए पनि उनीहरु जिल्लाको कुन ठाउँका हुन् भनेर बताएनन् । मृत्यु भएका ६७ बर्षीय पुरुष धरान १५ का हुन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको प्रतिष्ठानले नै जानकारी दिएको थियो ।

मन्त्रालयका प्रवक्ता डा.गौतमले भनेअनुसार ६ बर्षीय बालिका कहाँकी हुन् ? यसबारेमा भने प्रष्ट भएको छैन । यसबारेमा जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश १ सामाजिक विकास मन्त्रालयमा सम्पर्क गर्दा पनि सम्बन्धित अधिकारीहरुले अनभिज्ञता प्रकट गरे । ‘विभिन्न अस्पतालहरुको रिपोटिंगमा ६ बर्षको बालिकाको मृत्यु भएको भन्ने आएको छैन, अरु प्रदेशमा सुनसरी ठेगाना भएकाको मृत्यु भएको हो कि ?,’सामाजिक विकास मन्त्रालयका एक अधिकारीले भने ।

यसबिषयमा संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.गौतमसँग नै सम्पर्क गर्दा उनले पनि ६ बर्षको बालिका सुनसरीको कुन ठाउँको हो भन्ने थाह नभएको प्रतिक्रिया दिए । ‘मलाई यही रिपोर्टिग भएको हो, तर कहाँको हो भन्ने मलाई पनि थाह भएन,’प्रवक्ता डा.गौतमले भने,’अन्यत्र मृत्यु भएपनि सुनसरी जिल्लाको हुनसक्छ । यो बारेमा भोली मात्र बुझेर भन्न सक्छु ।’

मन्त्रालयका अनुसार सुनसरीका २ जना बाहेक पर्सामा ६१ बर्षीय, ५८ बर्षीय र ४८ बर्षीय पुरुषको मृत्यु भएको छ भने बारामा ५८ बर्षीय पुरुष र सिराहामा ६८ बर्षीय पुरुषको पनि मृत्यु भएको छ । यस्तै, मकवानपुरमा ५६ बर्षीय पुरुष र भक्तपुरमा ७३ बर्षीय पुरुषको पनि निधन भएको प्रवक्ता डा.गौतमले जानकारी दिए । उनका अनुसार नेपालमा कोरोना संक्रमितहरु मृत्यु हुनेहरुको कुलसंख्या १४६ पुगेको छ । यो मृत्युदर ०.५ प्रतिशत रहेको पनि उनले बताए ।