भाद्र ६ धरान,
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड १९ अस्पतालमा उपचाररत एक कोरोना संक्रमित व्यक्तिलाई प्लाज्मा थेपारीबाट उपचार गरिएको छ ।
धरान १५ का ६९ बर्षीय वृद्धलाई प्लाज्मा थेपारी विधिबाट हिजो (शुक्रबार) राती उपचार गरिएको हो । उनको स्वास्थ्य गम्भीर भएपछि कोभिड अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको थियो । कोभिड १९ निको भइसकेका एक प्रहरी हवल्दारले रक्तदान गरेपछि उनलाई प्लाज्मा थेपारी विधिबाट उपचार गरिएको हो । वीपीमा यो दोस्रो प्लाज्मा थेरापी उपचार हो । यसअघि पनि धरान १५ का एक व्यक्तिलाई प्लाज्मा थेपारीबाट उपचार गरिएको छ ।
प्रतिष्ठानको मेडिसिन विभागका प्रमुख एवं सरकारद्धारा प्लाज्मा थेपारी उपचारबारे गठित केन्द्रीयस्तरको समितिका सदस्य समेत रहेका प्रा.डा.सञ्जिव शर्माले हिजो राती नै संक्रमित व्यक्तिलाई प्लाज्मा दिइएको जानकारी दिए । ‘उहाँलाई हिजो राती नै प्लाज्मा दिइएको छ,’डा.शर्माले भने । संक्रमित व्यक्तिलाई प्लाज्मा थेपारीबाट उपचार गर्न ३ दिन अघिदेखि ए पोजेटिभ ब्लड गु्रप भएको साथै कोभिड १९ संक्रमण निको भइसकेका व्यक्तिको खोजी भइरहेको थियो । उनको लागि आवश्यक प्लाज्मा नेपाल प्रहरीका हवल्दारले रक्तदान गरेर उपलब्ध गराएका हुन् ।
ती हवल्दार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् । उनको खास घर उदयपुरको गाइघाट ९ हो । उनी प्रदेश प्रहरीमा गाडी चालक छन् । उनको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि गोठगाउँस्थित कोभिड अस्पतालमा आइसोलेसनमा बसेका थिए । साउन ११ गतेदेखि आइसोलेसनमा बसेका उनको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि २१ गते डिस्चार्ज भएका थिए ।
गोठगाउँस्थित आइसोलेसनबाट नै ए पोजेटिभ ब्लड भएको व्यक्तिको खोजी भइरहेको जानकारी आएपछि धरान आएर रक्तदान गरेको ती प्रहरी हवल्दारले बताए । रक्तदानबारे कार्यालयमा पनि जानकारी भएको र साथ पाएको उनको भनाई छ । प्रत्येक ३ महिना नाघे पछि रक्तदान गर्ने गरेको पनि उनले बताए । ‘मैले रक्तदान गरेको बारे कार्यालयमा पनि जानकारी छ, साथ पाएका छौं,’उनले भने,‘म चालक हुँ, १४ जिल्ला नै घुमिरहेको हुन्छ । प्रायः ३ महिनामा जहाँ पुगेको हुन्छुँ, त्यही रक्तदान गर्ने गरेको छुँ ।’
कोरोना संक्रमण भएर निको भएका व्यक्तिको शरीरमा एन्टिबडी विकास भएको हुन्छ । त्यो एन्टिबडीले शरीरमा भएको भाइरसको प्रतिरोध गरेर मार्ने काम गर्छ, र मानिसलाई रोगबाट मुक्त गर्छ । संक्रमण निको भएको मानिसको शरीरबाट २ देखि ४ हप्ताबीचमा रगत लिएर प्लाज्मा निकाल्न सकिने विज्ञहरुको भनाई छ । संक्रमण निको भएका व्यक्तिले रक्तदान गरेपछि उनको रगतबाट प्लाज्मा छुट्याएर निकालिन्छ, र संक्रमित व्यक्तिलाई दिइन्छ । त्यही प्लाज्मामा एन्टिबडी हुन्छ, जसले भाइरसलाई मार्ने काम गर्छ ।