झापा, भदाै ५
हिन्दू महिलाहरुको मुख्य पर्व तीजको मुख्य दिन शुक्रबार। हरेक वर्ष यस दिन शिवालयहरुमा भिडभाड हुने गरेको थियो। सडकमा राताम्यै परिहन लगाएर गरगहनामा सजिएका महिलाहरुको भिडभाड हुने गरेको थियो। शहरका कतिपय होटल र पार्टी प्यालेसहरुमा पनि घन्चमन्च हुन्थ्यो। तीजका अनेक भाकाका गीता गुन्जयमान हुने हुन्थ्यो माहोल।
तर यसपाला त्यस्तो छैन । सबैतिर शून्यता छाएको छ। कोरोना भाइरसको महामारीका कारण यस वर्षको तीज पर्व सुनसान बनेको हो। झापाका अधिकांश शिवालय, मन्दिरहरु सुनसान छन्। सडक समेत सुनसान छ। दमकमा स्थानीय सरकारले लकडाउन गरेकाले गत शनिबारदेखि बजार, पसल खुलेका छैनन्। कतिपय मन्दिरहरुमा त ताला लगाइएको छ। कोरोनाका कारण मन्दिर बन्द गरिएको सूचना गरिएकाले श्रद्धालुहरु गएका छैनन्।
कमल गाउँपालिकामा समुदाय स्तरमा संक्रमित भेटिएपछि मुख्य राजमार्ग समेत पर्ने केर्खा बजार लगायतका क्षेत्र सिल गरिएको छ। गाउँपालिकाभरि अत्यावश्यकीय बाहेकका सेवा बन्द गरिएको छ। शिवसताक्षी नगरपालिकाले पनि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका कारण बजार, पसल तथा शिवालय एवं मन्दिरहरु सुनसान बनेका छन्। गौरादह, गौरीगञ्जलगायतका स्थानीय तहमा पनि तीज पर्वको कुनै रौनक छाउन सकेको छैन।
घरैमा धित मेट्ने प्रयास सरकारले समेत तीज मनाउने क्रममा कुनै पनि ठूला समारोह नगर्न भनेका कारण यस वर्ष घरैभित्र बसेर धित मेट्ने प्रयास गरिएको छ। टाढा कतै जान नपाएको र मन्दिरमा समेत नगएकाले घरैमा बसेर पूजापाठ गरेको दमक–८ की इन्दिरा घिमिरेले बताइन्। अघिल्ला वर्षमा दरखाने दिनदेखिनै साथी तथा आफन्तसँग रमाउँदै सामूहिक रुपमा नाचगान गरेको भए पनि यस वर्ष घरैमा बसेर रमाउने प्रयास गरेको उनको भनाइ छ।
यस्तै, कमल–६ की लक्ष्मी आचार्यले समेत यस वर्ष कतै पनि नगएको बताइन्। मन्दिरमा समेत भिडभाड हुने र कोरोना सर्न सक्ने भएकाले घरैमा पूजा गरेको उनको भनाइ छ। दरखाने दिन समेत घरैमा परिकार बनाएर अघिल्ला वर्षहरुमा गरेको रमाईलोको सम्झना गरिएको उनले बताइन्। (थाहा खबर)