पाटन अस्पतालमा २ संक्रमितकाे मृत्यु, मृतककाे संख्या १३४ पुग्याे

सेयर गर्नुहोस्

काठमाण्डाै, भदाै ५
ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ ।

दोलखाकी महिलाको यही भदौ २ गतेदेखि र सर्लाहीका पुरुषको गत साउन ३१ गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो ।

उनीहरुको ट्राभल हिस्ट्री खुलेको छैन । यस्तै बिहान विराटनगरमा हाेम क्वारेन्टाइनमा बसेका एक ४५ बर्षियकाे समेत मृत्यु भएकाे छ । उनी संक्रमित भएदेखि घरमै बसेका थिए । आजै बिहान बुटवलकाे काेराेना अस्पतालमा प्युठानका एक संक्रमितकाे मृत्यु भएकाे थियाे ।

योसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा १२६ जना उल्लेख भए पनि ललितपुर, बुटवल, बारा, पर्सा र चितवनको मृत्यु समावेश छैन ।