यसरी शुरु गर्न सकिन्छ शैक्षिक सत्र

सेयर गर्नुहोस्
  • 153
    Shares

डा.हरिप्रसाद लम्साल

मुलुक विगत पाँच महिनादेखि कोभिड १९ को त्रासमा छ । आर्थिक, सामाजिक, शैक्षिक लगायतका कृयाकलाप ठप्प प्राय छन् । बाहिर ठीकठाक जस्तो देखिन्छ, तर भित्रभित्रै धेरै क्षेत्रमा नकारात्मक असर परेको छ । आर्थिक कृयाकलापमा आएको मन्दीका कारण रोजगारी मात्र नभएर मानसिक तनावमा पर्ने अवस्था आउन लाग्यो । लकडाउनले पनि सङ्क्रमणको दरलाई रोक्न सकेन । पुन: अर्को लकडाउन आउला जस्तो छ । मानव सभ्यतालाई नै चुनौती सृजना भयो ।

कोभिड १९ ले मानिसका कृयाकलापमात्र नभएर विकासको गतिलाई अवरोध भएको छ । घरपरिवारमा सोच्दै नसोचेको सामाजिक एवम् आर्थिक समस्या आउने भयो । नयाँ रोजगारी त परको विषय भयो, अब त भएका रोजगारी पनि गुम्ने अवस्था आउँदैछ । यो क्रम छिट्टै रोकिएला जस्तो देखिँदैन । अभिभावक आफूमात्र नभएर विगत पाँच महिनादेखि छोराछोरीलाई घरमै थुनेर राख्ने बाध्यतामा छन् ।

कोभिड १९ को शुरुवाती चरणमा मानिसहरुमा यसको असर र लक्षण केही समयमा ठीक भैहाल्छ भन्ने मानसिकता थियो । अब त कहिलेसम्म यसरी बस्नुपर्ने भनेर अनुमान गर्न सक्ने अवस्था पनि देखिएन । यसै बसेर पनि के खाने ? खान पाइएला र ? आखिर मानिसले खानका लागि पनि केहि कृयाकलाप त गर्नै पर्ने होला ।त्यसो भएपछि यसरी कति समय बस्ने र भन्ने अवस्था आउछ नै ?

भाइरसले मानिसको जीवनलाई नै चुनौती दिइरहेको अवस्थामा शैक्षिक कृयाकलाप के हुन्छन् त ? शैक्षिक सत्र के हुन्छ त ? यससँग जोडिएका रोजगारी र गतिविधि के हुन्छन् त ? अहिले शिक्षाका अहम सवाल यिनै हुन् । यस लेखमा यिनै विषयमा चर्चा गर्न खोजिएको छ ।

बहसको शुरुवात अहिलेकै अवस्थामा के गर्न सकिन्छ वा के गर्नुपर्छ ? भन्नेबाट गर्न उपयुक्त देखियो । हामी अहिले फरक परिवेशमा परेको हुनाले फरक ढँगबाट सोच्नु पर्ने अवस्था आयो । नयाँ समस्या र परिवेशसँग जुध्नका लागि सोच पनि नयाँ नै चाहिन्छ । यस्तो नयाँ सोच दुई तरिका वा विधिबाट हासिल गर्न सकिन्छ । पहिलो, हामीले आफैले काम गर्दै सिक्ने जाने विधि हो, साथै असफलताबाट पनि सिक्दै जाने तरिका हो । यसरी सिकेका उपाय नयाँ परिवेश र समस्यासँग जुध्नका लागि काम लाग्न सक्छन् । दोश्रो, अन्य मुलुकले गरेका कार्यबाट सिक्ने हो ।पहिलो शर्त सुरक्षा सावधानी र सामाजिक दुरी कायम गरेर नै शैक्षिक कृयाकलाप शुरु गर्नुपर्छ । यसमा सावधानी नअपनाइकन शैक्षिक कृयाकलाप सञ्चालन गर्न हुँदैन भन्नेमा सबै स्पष्ट हुनु आवश्यक छ

विगत पाँच महिनामा हामीले के सिक्यौँ त ? कोभिड १९ को शुरुवाती चरणमा मानिसमा जे जति मात्रामा डर थियो, सोको तुलनामा डर अहिले कम भएको छ । त्यतिबेला सुनेर नै डराउने व्यक्ति वा समूह अहिले बाध्यता या यस्तै अन्य कारणले भए पनि कम डराउन थालेको देखिएको छ । यसबाट पनि के भन्न सकिन्छ भने कोभिड १९ रहदाँ पनि अबका दिनमा डरको मात्रा घट्छ नै । यसो भनेर सुरक्षा र सावधानी अपनाउनै नपर्ने भन्ने पनि होइन । अबका दिनमा यी सबैको पालना गर्दै अगाडि जानुपर्छ । अब मानिसले यससँगै जुधेर अगाडि बढ्ने क्षमता र मार्ग तय गर्नुको विकल्प छैन् । त्यही भएर हाम्रा शैक्षिक कृयाकलाप पनि अब अगाडि बढाउनुपर्छ भन्ने नै हो । के कसरी भन्ने बारेमा ब्यापक बहस र छलफल चाहिन्छ नै ।

यसबीचमा विश्वमा अन्य मुलुकले के गरे त ? यसमा मिश्रित अभ्यास देखिन्छ । कतिपय मुलुकहरुले सामाजिक दुरी र अन्य सुरक्षाका उपाय अपनाएर सीमित मात्रामा शैक्षिक कृयाकलाप सन्चालनमा ल्याएका छन् । यहाँ सीमित भन्नाले परीक्षा पद्धतिमा परिवर्तन, पढने पढाउने तरिकामा फरक, सामाजिक दुरी कायम, पढने समयमा कटौतीजस्ता उपायहरुमा फेरबदल गरे भन्नेलाई बुझाउँछ । कति मुलुकले अनलाइन या भर्चुअल माध्यमलाई बढावा दिए । यस बीचमा पनि कतिपय मुलुकहरुका शैक्षिक कृयाकलाप ठप्प प्राय छन् ।

यत्रो त्रासका बीचमा शैक्षिक सत्र कसरी शुरु गर्न सकिन्छ त  ? भन्ने प्रश्न स्वभाविक रुपमा आउने नै छ । जीवन रहे न अन्य कुराका बारेमा सोच्ने हो भन्न पनि सकिएला । तर कहिलेसम्म यो अवस्थामा रहने ? यसरी बस्दा शैक्षिक सत्र खेर जाने निश्चित छ । यसले अर्को भयावह अवस्था नल्याउला भन्न पनि सकिदैन ।

यसरी बसेर हुँदैन, अब केही गर्नै पर्छ । यो अर्को जुधारु सोच हो । सधैँभरि यसरी बसेर जीवन नचल्ने भएकाले अब लड्दै बढ्नुको विकल्प छैन । त्रासकै बीचमा अगाडि बढ्ने बाटो तय गर्नैपर्छ । कोभिड १९ का बीचमा हाम्रा शैक्षिक कृयाकलापहरु अगाडि बढाउनुपर्छ ।

अहिलेको सन्दर्भमा शैक्षिक कृयाकलाप कसरी शुरु गर्ने त ?

सामान्य अवस्थामा बैशाखबाट शैक्षिक सत्र शुरु हुने गर्दथ्यो । यतिबेलासम्म शैक्षिक सत्रको पहिलो चार महिना बितेर प्रथम चौमासिक परीक्षा लिने बेला पनि भइसक्थ्यो । तर, यतिबेला विगत चार महिनादेखि शैक्षिक कृयाकलाप बन्द छन् । शुरु-शुरुमा त कोभिड १९ को त्रास घट्ला र शैक्षिक कृयाकलाप सन्चालन गरौँला भनेर बसेजस्तो भयो । शैक्षिक कृयाकलाप सञ्चालन नहुँदा बालबालिकाको पढाइमात्र रोकिएको होइन, निजी शैक्षिक संस्थामा कार्यरत ठूलो जनशक्तिको रोजगारी पनि संकटमा परिरहेको छ । यहाँ शैक्षिक कृयाकलापसँग आर्थिक कृयाकलाप पनि जोडिएका छन् ।

पहिलो शर्त सुरक्षा सावधानी र सामाजिक दुरी कायम गरेर नै शैक्षिक कृयाकलाप शुरु गर्नुपर्छ । यसमा सावधानी नअपनाइकन शैक्षिक कृयाकलाप सञ्चालन गर्न हुँदैन भन्नेमा सबै स्पष्ट हुनु आवश्यक छ ।

दोश्रो, अहिले सामान्य अवस्थामा जस्तैखालका कृयाकलाप सञ्चालन गर्न/हुन सक्दैनन् । यस संकटको समयमा जसोतसो शुरु गरौँ भनेर अगाडि बढ्ने बेला हो ।

शैक्षिक कृयाकलाप सञ्चालन गर्न देहायवमोजिम गर्न सकिन्छ ।

१.  सबैभन्दा पहिला सरकारले शैक्षिक सत्र सन्चालन गर्ने निर्णय गर्नुपर्छ । स्थानीय सरकारलाई सुरक्षा सावधानीभित्र गर्न सकिने कार्यको ढाँचा तय गरी कार्यान्वयन गर्ने अधिकार दिनुपर्छ । हरेक स्थानीय सरकारले सम्वद्ध पक्षको सहभागितामा स्थान विशेषका आधारमा शैक्षिक कृयाकलापको ढाँचा तयार गरेर कार्यान्वयनमा ल्याउनु पर्छ । विद्यालय शिक्षाको हकमा यो व्यवस्था गर्नु पर्छ ।

२. शिक्षा मन्त्रालयले आठ महिनाको शैक्षिक क्यालेण्डर र शैक्षिक कृयाकलापको खाका तय गर्नुपर्छ । यसअन्तर्गत विषयगत रुपमा पाठ्यक्रम, शिक्षण विधि र अन्य शैक्षिक कृयाकलापको खाका बनाउनुपर्छ । यहि खाकाको अधिनमा रही स्थानीय तह र विद्यालयले शैक्षिक कृयाकलाप कार्यान्वयनको मोडालिटी तय गर्नुपर्छ ।

३. अब सबै तहमा विद्यार्थी भर्ना कार्य अगाडी बढाउनु पर्छ । निजी शैक्षिक संस्थाको भर्ना पनि अब खोल्नुपर्छ । हुन त कतिपय संस्थाले भर्ना कार्य सकिसकेका पनि हुन सक्छन् । जेहोस अब औपचारिक रुपमा नै घोषणा गर्नुपर्छ । शिक्षण र अन्य शुल्कमा सम्बन्धमा न्यूनतम मानकमा जानुपर्छ । पढ्नेले पनि तिर्नुपर्छ र लिनेले पनि यही मानक बमोजिम शुल्क लिनु पर्छ । विद्यालय तहका लागि स्थानीय सरकार र उच्च शिक्षाका लागि विश्वविद्यालयले यसमा तदारुकता देखाउनुपर्छ । संकटको घडीमा अनावश्यक शुल्क नलिनका लागि शुरुमा नै सरोकारवालासँग छलफल गरेर सहमति लिनु आवश्यक हुन्छ ।

४. शैक्षिक कृयाकलाप सन्चालन गर्नका लागि हरेक विद्यालय एवम् शैक्षिक निकायले खाका बनाउनु पर्छ । यस्तो खाका बनाउँदा रेडियो, टेलिभिजन एवम् अनलाइनजस्ता कुनै सुविधा नभएका,रेडियो मात्र भएका, रेडियो र टेलिभिजन दुवै भएका तथा अनलाइन सुविधा भएका विद्यार्थीको घरपरिवार समूह बनाउनुपर्छ । यसैगरी प्रविधि प्रयोगमा सीप तथा दक्षताका हिसाबले शिक्षकलाई पनि वर्गीकरण गर्नु आवश्यक हुन्छ ।

माथि दिइएका ४ वा यस्तै समूहका विद्यार्थीसम्म शिक्षकको सम्पर्क के कसरी कायम हुन सक्छ भनेर विद्यालय र स्थानीय तहले कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ । अहिलेको अवस्थामा अनलाइन वा भर्चुअल विधिमात्र हो भनेर जान हुँदैन । यसले थप विभेद ल्याउन सक्छ । जोसँग जे सुविधा हुन्छ, त्यसैमा सहयोग गर्ने तरिकाबाट जानुपर्छ ।

विद्यालय तहको शुरुवाती कक्षाहरुमा शिक्षकको भौतिक उपस्थितिबाट समेत सहयोग उपलब्ध गराउने ढँगबाट कृयाकलाप बनाउनुपर्छ । यस्तो कार्य शहरमा गार्हो होला । तर, ग्रामीण क्षेत्रमा गर्न सकिन्छ । मोबाइल शिक्षक पनि अर्को विकल्प हुनसक्छ । शिक्षकले टोल टोलमा गएर पनि सहयोग गर्न सक्छन् ।

यसैगरी हप्तामा एक वा दुई दिन मात्र भए पनि यस्तो सहयोग उपलब्ध गराउन सक्दा ठूलै उपलब्धी भएको मान्नुपर्छ । स्थानीय तहबाट स्थानीय समुदायमा नै आवश्यक सहकार्य गरेर त्यहीँबाट अन्य किसिमको सहयोग उपलब्ध गराउन पनि सकिन्छ ।

यसैगरी कक्षा पाँचसम्मका विद्यार्थीहरुलाई उनीहरु बस्ने स्थानको आधारमा क्लस्टरिङ गर्न सकिन्छ । हरेक क्लस्टरमा उपलब्ध भएका शिक्षकलाई नै सहयोग गर्ने कार्यका लागि सोही स्थानमा खटाउन पनि सकिन्छ ।

शिक्षक उपलब्ध हुन नसक्ने अवस्थामा स्वयमसेवकको व्यवस्था गर्नुपर्ने पनि हुनसक्छ । सामुदायिक संघसंस्थाको सहयोग पनि लिन सकिन्छ । साथै शिक्षक तथा अभिभावकसँगै मिलेर विद्यार्थीलाई सहयोग गर्ने विधि पनि अपनाउन सकिन्छ । यस्ता उपाय तथा विधि स्थानीय तहमा बसेर तय गर्नु उपयुक्त हुन्छ ।

विद्यालय तहका माथिल्ला कक्षाहरुमा रेडियो, टेलिभिजन र अनलाइनहरु प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि स्थानीय सरकारले स्थानीय रुपमा नै सहकार्यको ढाँचा बनाउन सक्छन् । केहि पनि नहुनुभन्दा अहिले यी यी कृयाकलाप शुरु गरौँ भनेर पनि जानु पर्छ । सम्पर्क कक्षाको अवधारणा पनि कार्यान्वयनमा ल्याउन सकिन्छ । सम्पर्क कक्षा वा भेटघाट कार्यक्रम पनि हुनसक्छ ।

परीक्षाका लागि शिक्षकलाई पूर्णरुपमा जिम्मेवार बनाउनुपर्छ । शिक्षकले पनि जिम्मेवारी र जवाफदेहीपूर्ण ढँगबाट मूल्याङ्कन गर्नुपर्छ । कक्षा १२ को परीक्षा पनि शिक्षक र विद्यालयको मूल्याङ्कनलाई आधार मानेर गर्न सकिन्छ । यसैगरी अनिवार्य विषयको संयुक्त र स्तरयुक्त प्रश्न बनाएर कक्षा १२ को परीक्षा एक पटकका लागि विद्यालय र शिक्षकबाट नै लिने र अङ्कन गर्ने व्यवस्था अर्को विकल्प हुनसक्छ । अब रह्यो माथिल्लो तहमा लैजान के गर्ने ? जुन निकायलाई आवश्यक पर्छ उसले सुरक्षा विधि अपनाएर अर्को विधिबाट अनलाइन परीक्षा लिइ नतिजा  निकाल्न सक्छ ।

उच्च शिक्षाका क्षेत्रमा भर्चुअल र अनलाइन विधि अपनाउनुपर्छ । यसमा केही विद्यार्थी छुट्न सक्छन् । यिनलाई पनि विस्तारै समेटने बारेमा सोच्नुपर्छ । सरकारले नै टेलिफोन प्रदायकहरुसँग मिलेर विद्यार्थीलाई सहयोग गर्ने काममा लाग्नुपर्छ ।

कोभिड १९ को त्रास सकिएपछि नियमित ढाँचामा फर्कन सकिन्छ । कोभिड १९ को त्रासका बीचमा गर्न सक्ने जति कार्य अब शुरु गर्नुपर्छ । माथिका जस्ता अन्य उपायहरु पनि स्थान विशेषका आधारमा पनि तय हुन सक्छन् । अब हामीसँग रहेको एक मात्र विकल्प भनेको शैक्षिक कृयाकलाप सन्चालनका लागि माथिका जस्तै विविध उपाय सोच्ने र कार्यान्वयनमा ल्याउने नै हो ।

अब शैक्षिक कृयाकलाप सन्चालन गरेर शिक्षक र विद्यार्थीको टुटेको सम्बन्ध जोड्नतिर लागौँ । समयले नै विस्तारै सिकाउँदै पनि जान्छ । कोभिड १९ भन्दा अगाडि जुम तथा भर्चुअल बैठकका बारेमा कतिलाई थाहा थियो होला र ? बाध्यताले अहिलेसम्म धेरैलाई सिकाइसक्यो । यसैगरी अन्य उपाय पनि सुखदुख सिकिन्छ । नयाँ कुरा सिक्न त कहाँ सजिलो छ र ?

शैक्षिक कृयाकलाप सन्चालन गर्नमा संघ, प्रदेश र स्थानीय तह मिलेरै जानुपर्छ । विद्यालय शिक्षाको कार्यक्षेत्र स्थानीय तहको अधिकारमा परेको हुनाले कार्यान्वयनको जिम्मा स्थानीय तहलाई दिने व्यवस्था गरौँ । स्थानीय तह विशेषरुपमा फरक-फरक मोडालिटी हुने विधि तय गरौँ । प्रदेशले पनि निश्चित विषयमा स्थानीय तहलाई सहयोग गर्ने विधि बसालौँ । संघले खाका बनाएर दिने काम गरौँ । स्रोत र साधन स्थानीय तहमा पठाउने पद्धति बसालौँ । यसो गर्न सके धेरै कुरा समयले नै मिलाउँदै पनि लैजान्छ ।

(डा. लम्साल बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयका सचिव हुन् ।)

Leave a Reply

Your email address will not be published.