रक्सी पसल खाेल्ने विषयमा प्रहरीसँग झडप, रंगेली तनावग्रस्त

सेयर गर्नुहोस्

विराटनगर, भदाै ४
मदिरा पसल बन्द गराउँदै गएको प्रहरीसँग स्थानीय बासिन्दाको विवाद हुँदा मोरङको रंगेली नगरपालिका–५ आँपगाछी बुधबारराति तनावग्रस्त बनेको छ ।

त्यसक्रममा साँझ ७ बजेबाट राति ११ बजेसम्म अवस्था असामान्य बन्न पुगेको थियो । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आवागमन र भीडभाडमा कडाई गर्न खटिएको प्रहरी टोलीले खुल्ला रहेका मदिरा पसल बन्द गराउन खोज्दा विवाद सुरु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

मदिरा पसल बन्द गर्न र भीडभाड नगर्न आग्रह गर्दा नमानेको भन्दै प्रहरीले बल प्रयोग गर्न खोजेपछि अवस्था तनावपूर्ण बनेको बताइएको छ । बल प्रयोग गर्ने क्रममा प्रहरीले नियम उल्लंघन गर्नेहरुमाथि लाट्ठी प्रहार गरेको थियो । त्यसपछि साँझ ७ बजेबाट आँपगाछीको अवस्था असामान्य बनेर गएको हो ।

प्रहरीले अनआवश्यक बल प्रयोग र लाट्ठी प्रहार गरेकोभन्दै विरोधमा उत्रिएका स्थानीय बासिन्दाले राति ११ बजेसम्म आँपगाछी प्रहरी चौकी घेराउ गरे । त्यसक्रममा ढुुंगामुडा र तोडफोड गर्दै सयौंको संख्यामा रहेका स्थानीयले चौकीको सुरक्षाका लागि बनाइएको बाँसको टाटीको बेरा भत्काइदिएका छन् ।

प्रहरीको विरोधमा उत्रिएकाहरुले प्रहार गरेको ढुंगाले लागेर नेपाल प्रहरीका असइ (सहायक निरीक्षक) सन्तोष यादव घाइते भएको एसपी खड्काले बताए । उनको टाउको फुटेको छ । प्रहरीले स्थिति नियन्त्रण बाहिर जान लागेपछि एक राउण्ड हवाई फायर पनि गरेको छ ।

‘कोरोना महामारीका कारण भीडभाड हुन नदिने र मानिसको आवतजावत रोक्ने काम भइरहेको थियो । त्यस क्रममा मदिरा पसलहरु खुल्ला रहेको पाइएपछि बन्द गराउन गएको प्रहरी टोलीसँग स्थानीयले विवाद गर्न थाले,’ एसपी खड्काले भने, ‘सम्झाई बुझाई गर्न खोज्दा पनि नमानेर पाँच÷सात सयको संख्यामा भेला भएहरुले प्रहरी चौकी घेराउ गर्दै आक्रमण र तोडफोड गर्न थाले । स्थितिलाई नियन्त्रणमा लिन हवाई फायरसमेत गर्नु पर्ने अवस्था आयो ।’

अवस्था थप जटिल बन्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिन मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राई र इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालको अलगअलग नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । त्यत्तिकै संख्यामा सशस्त्र प्रहरीलाई पनि परिचालन गरिएको थियो । छलफल गरेर समस्याको समाधान खोजिने र घटनाको छानबिन गर्ने भन्दै प्रहरीले सबैलाई सम्झाईबुझाई गरेर पठाएपछि राति ११ बजेपछि तनाव साम्य भएको थियो ।

वडाअध्यक्ष महानन्द मण्डलले कोरोना महामारीका कारण कडाई गर्ने क्रममा सम्झाईबुझाई गर्नु पर्ने भए पनि प्रहरीले सुरुमा लाट्ठी प्रहार गरेपछि अवस्था तनावपूर्ण बनेको बताए । ‘कोरोना नियन्त्रणका लागि भीडभाड र आवागमन रोक्ने सर्वपक्षिय सहमति भएको थियो,’ उनले भने, ‘तर सम्झाईबुझाई नगरिकन सुरुमै प्रहरीले लाट्ठी प्रहार गर्न थालेपछि अवस्था असामान्य बनेको हो ।’

मण्डलले प्रहरीको लाट्ठी लागेर स्थानीय केहीलाई चोट समेत लागेको बताए । छलफल गरेर समस्याको समाधान खोज्ने सहमति भएपछि अवस्था सामान्य बनेको र विरोधमा उत्रिएकाहरु आआफ्नो घर गएको उनको भनाइ छ । उनकाअनुसार रंगेली ५ मा हालसम्म ११ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।