उपचार अभावमा संक्रमितकाे मृत्यु भएकाे भनेर अदालतमा मुद्धा दर्ता

सेयर गर्नुहोस्

विराटनर, भदाै ४
कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार अभावमा संक्रमितको मृत्यु भएको भन्दै दोषीमाथि कारबाही माग गर्दै उच्च अदालत विराटनगरमा बुधबार रिट निदेवन दायर भएको छ ।विराटनगर ३ घर भई विद्युत् प्राधिकरण वितरण केन्द्र विराटनगरमा कार्यरत ५७ वर्षीय पुरुषको उपचार अभावमा केन्द्रमा मृत्यु भएको भन्दै उनकी छोरीले निदेवन दर्ता गराएकी हुन् । रिटमा संक्रमित बुवाको प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सबै सदस्यमा संक्रमण पुष्टि हुँदासमेत कोभिड–१९ अस्पतालहरु र आइसोलेसन केन्द्रहरुले शय्या अभाव भएको भन्दै घरमै असुरक्षित रुपमा बस्न बाध्य पारेकाले दोषीउपर कारबाही माग गरिएको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयअन्तर्गतको कोभिड–१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन सचिवालय, सामाजिक विकास मन्त्रालय, मन्त्रालयकै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, विराटनगर महानगरपालिका, महानगरको जनस्वास्थ्य महाशाखा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोसी अस्पताल विराटनगर, मेची अस्पताल भद्रपुर, झापासमेतलाई विपक्षी बनाई रिट निवेदन दायर गरिएको छ ।

विद्युत प्राधिकरणमा कार्यरत ती व्यक्ति काममा खटिएकै बेला संक्रमित भएका थिए । उनी साउन २६ गते कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका थिए । उनलाई उपचार केन्द्रमा कोही स्वास्थ्यकर्मीले सोधपुछसमेत गर्न नआएको, खाने र सुत्ने प्रबन्धसमेत राम्रो नभएको र आफूलाई असहज महसुस भएको स्वास्थ्यकर्मीलाई जानकारी गराउँदासमेत वास्ता नगरेको साउन २७ गते फोनमा जानकारी गराएकाले आफूहरु भेट्न अस्पताल गएको व्यहोरासमेत निवेदनमा उल्लेख गरिएको छ ।

‘बुवालाई भेट्न जाँदा उपचारको सम्पूर्ण जिम्मेवारी आफूहरुको रहेको र केही हुँदैन भन्दै स्वास्थ्यकर्मीहरुले हामीहरुलाई घर फर्काइदिएको तर साउन २८ गते सञ्चारमाध्यमबाट अचानक बुवाको मृत्यु भएको खबर प्राप्त भएकाले स्वास्थ्यकर्मीको लापर्बाहीले मृत्यु भएकोले न्याय प्राप्तकिा लागि निवेदन दत्र्ता गराएको छु,’ निवेदनमा भनिएको छ, ‘स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकारविपरीत न्यूनतम स्वास्थ्य सेवा अभावमा बुवाको मृत्यु भएको अवस्थामा पनि तीन तहका सरकारले एकले अर्कालाई आरोप लगाउँदै कोही जिम्मेवार नभएकाले न्याय प्राप्तिका लागि निवेदन दिन आएको छु ।’

अहिले समुदायमा सामान्य रुघाखोकी, ज्वरो आउँदा उपचारका लागि अस्पताल जाँदा चिकित्सक तथा स्वास्थ्यकर्मी भागाभाग गर्ने अवस्था रहेको निवेदनमा भनिएको छ । ‘यसको जवाफदेहिता कसले लिने, सामान्य बिरामीसमेत उपचार अभावमा मृत्यु भइरहेको जिम्मेवारी कसले लिन्छ,’ निवेदनमा उल्लेख छ, ‘कोभिड–१९ उपचार केन्द्रमा सघन उपचार केन्द्रमा आवश्यक उपकरणको अभावले संक्रमितहरु उपचार अभावमा ज्यान गुमाइरहेका छन् ।’

रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म बिरामीहरुलाई तत्काल अस्पतालमा उपचार गर्न पाउने, कोभिड–१९ रोग पहिचान, पिसिआर परीक्षणको दायरा बढाउन पीसीआर प्रयोगशाला विस्तार गर्न, कोभिड–१९ अस्पतालको आवश्यक पूर्वाधार व्यवस्थापन तत्काल गर्न गराउनु भनी विपक्षीको नाममा अन्तरिम आदेश जारी गर्न निवेदनमा माग गरिएको उल्लेख छ ।