काठमाण्डाै, भदाै १
सरकारले कामदारको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न पत्र लेखेको छ ।
त्यसकै आधारमा सरकारले चार्टर्ड उडान स्थगन गरेको हो । गत सोमबारको मन्त्रिपरिषद बैठकले ३ सय जना दूतावासहरुको सिफारिसमा र अरु २ सय जना वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्चेर २ सय जना गरी दैनिक ५ सय जना उद्धार गर्ने निर्णय गरेको थियो ।
त्यसरी फर्किने कामदारलाई काठमाडौंमै ७ दिनसम्म राखेर पीसीआर गरेर मात्रै घर जान दिने निर्णय मन्त्रिपरिषदले गरेको थियो । तर, त्यसरी कामदार आएर बसने होटल क्वारिन्टिन तय भएपछि तय भएका उद्धार उडानहरु स्थगित गरिएको हो ।
उद्धार गरिएकालाई राख्न होटल व्यवस्थापन नभएको भन्दै सीसीएमसीले नै मन्त्रालयलाई उद्धार उडान स्थगित गर्न भनेको हो ।
कोरोना संक्रमण जारी रहेको, विभिन्न स्थानीय तहले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टिनका लागि होटल व्यवस्था भएको जानकारी नआएको सीसीएमसीले पत्रमा उल्लेख गरेको छ ।
होटल क्वारेन्टिन सुनिश्चित गरिएपछि मात्रै उडान स्वीकृति दिने तथा यसअघि जारी भएका उडान अनुमति समेत स्थगित गरिदिन सीसीएमसीको पत्रमा अनुरोध गरिएको छ । उडान स्थगित भएपछि दूतावासहरुले समेत उडान स्थगन भएको सूचना निकालेका छन् ।
नेपाल एयरलाइन्सले पनि सूचना निकालेर उडानहरू स्थगित भएको जानकारी दिएको छ ।