शिवसताक्षीमा पनि लकडाउन

शिवसताक्षी नगरपालिका
सेयर गर्नुहोस्

झापा, भदाै १

कोरोना संक्रमणको त्रास समुदायमा फैलन थालेपछि जिल्लाको शिवसताक्षी नगरपालिका पनि लकडाउन हुने भएको छ ।

कार्यपालिकाको कार्यालयमा आज सम्पन्न बैठकले सोमबार राति १२ बजेदेखि एक हप्ता अर्थात भदौ १० गते सम्म आंशिक बन्दाबन्दि गर्ने निर्णय गरेको हो । शिवसताक्षी नगरमा यसअघि साप्ताहिक हाट बजार नगरस्तरीय समन्वय समितिले बन्द गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाको बोर्ड बैठकमा खाद्यन्न लगायत अन्य आवश्यकीय वस्तुको खरिदका लागि बिहान आंशिकरुपमा खुकुलो पारिने नगरपालिकाका प्रवक्ता नविन इजमले जानकारी दिए । नगरपालिकाको बन्दा बन्दि अवधिभर सामुदायिक विद्यालय पनि बन्द गर्ने निर्णय भएको छ ।

विद्यालयमा पठनपाठन नभएपनि शिक्षकहरु विद्यालयमा आउने जाने गरेका थिए । नगरपालिकाले आफ्ना कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाइ अनिवार्य परिचयपत्र साथमा लिएर मात्र कार्यक्षेत्रमा खटिन आग्रह गरेको छ ।

लकडाउन अवधिभर नगरभित्रका बजारमा औषधि पसल बाहेक अन्य पसलहरू सञ्चालन गरे कारवाही गरिने प्रवक्ता नविन इजमले जानकारी दिएका छन्। लकडाउ अवधिभर नगरवासीलाई बिनाकारण घर बाहिर ननिस्कन नगरकार्यपालिका ले पनि अनुरोध गरेको छ ।

शिवसताक्षीका ११ वटै वडा कार्यालयहरुबाट दैनिक रूपमा सम्पादन हुँदै आएका प्रशासनिक कार्यहरु पनि आंशिक रुपमा बन्द गरिएका छन् ।

Leave a Reply

Your email address will not be published.