झापा, भदाै १
दमकमा समुदायमा कोरोना संक्रमण देखिएको चार दिन सम्म पनि कन्ट्याक ट्रेसिङ शुरु भएको छैन् । नेपाल विद्युत प्राधिकरणका ५ कर्मचारी र धुलिखेल अस्पतालमा उपचार गर्ने दमकका एक व्यापारीमा संक्रमण देखिएको थियो । तर उनीहरु सँग सम्पर्कमा आएका ब्यक्तिको पहिचान गर्न नसकिएको हो ।
दमक नगरपालिकाका जनस्वास्थ्य निरिक्षक बद्री बरालले संक्रमण पुष्टि भएका कर्मचारी र व्यवसायीको सम्पर्कमा आएकाहरुको खोजी र पहिचान भइरहको बताए । कर्मचारीको सम्पर्कमा आएकाहरुको पहिचान भइसकेको छैन, बरालले भने, व्यवसायीको सम्पर्कमा आएकाहरुको भने पहिचान लगभग भइसकेको छ । उनले पहिचान भइसक्न साथ स्वाब संकलनको काम थाल्ने जानकारी दिए ।
समुदायमा फैलिएपछी परिक्षणको दायरा फराकिलो पार्न र तत्काल पीसीआर परिक्षण गर्न माग स्थानीयले गरेको छ । संक्रमितको परिवार, आफन्तको छिटो पहिचान हुनुपर्ने माग उनीहरुको छ । दमकको विद्युत प्राधिरकणका प्रमुख सहितका ५ कर्मचारीमा एकै पटक संक्रमण देखिएको थियो ।
स्वास्थ्य निरीक्षक बरालले संक्रमित व्यक्तिको पहिचान गर्नका लागि कन्ट्रयाक ट्रेसिङ गर्ने काम भइरहेको र त्यो काम सकिएपछि आवश्यकताका आधारमा मात्रै पिसिआर परीक्षण गरिने बताए । उनले कन्ट्रयाक ट्रेसिङको केही प्रश्नावली हुने र त्यसमा शंका लागेमा मात्रै परिक्षण गरिने बताए । दमकमा २१ जनामा संक्रमण भएको र ती मध्ये १४ जना उपचार पछि घर फर्किएका छन् । दमकमा संक्रमणको जोखिम बढेको भनेर शनिबार राति देखि दमकमा लकडाउन गरिएको छ ।
यस्तै गौरादह नगरपालिकामा समुदायमा संक्रमण फैलिएको आशंकामा स्वाब परिक्षण गरेको रिर्पोट ६ दिन बित्दा समेत आएको छैन । त्यसले गर्दा नगरका ४ वटा वडा पूर्ण रुपमा शिल छन् । विदामा घरमा आएका २ जना सशस्त्र प्रहरीमा संक्रमण देखिएपछी गौरादहमा स्वाब संकलन गरिएको थियो ।
सेयर गर्नुहोस्
१ भाद्र २०७७, सोमबार १५:०१