विराटनगर भन्सारका ४ कर्मचारी संक्रमित

सेयर गर्नुहोस्

विराटनगर, भदाै १
विराटनगर भन्सारका ४ कर्मचारीमा काेराेना सँक्रमण पुष्टि भएकाे छ ।भन्सारका २० जना कर्मचारीको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालय प्रमुख शिव प्रसाद भण्डारीले जानकारी दिए ।

संक्रमितमध्ये नापजाँच र कम्प्युटर शाखामा कार्यरत कर्मचारी रहेको तथा उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको भण्डारीले बताए ।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरले कोरोना संक्रमण पुष्टि भएपछि भन्सार जाँचपासमा कार्यालयसँगै आफूहरुले पनि सतर्कता अपनाएको बताए । आइतबारदेखि भन्सारमा भिड नियन्त्रण गरिएको छ । सुरक्षा सावधानी अपनाएर मात्र भित्र प्रवेश गराउने गरिएको छ ।

एजेन्ट र उनीहरुका प्रतिनिधिहरुले पनि सकभर घरबाटै अनलाइनबाट काम गर्ने र अति आवश्यक परे मात्र भन्सारमा कागजात बुझाउन जाने गरेका छन् ।