विराटनगर, साउन ७
बलात्कारको आरोपमा मंगलबार दिउँसो पक्राउ परेका मोरङको ग्रामथान गाउँपालिका–२ का २१ वर्षीय बिजय सरदारलाई इलाका प्रहरी कार्यालय बेलबारीले बुधबार बिहान स्वास्थ्य परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्यायो ।
विराटनगर ल्याउँदा उनी हत्कडीमा थिए । स्वास्थ्य परीक्षणका लागि अस्पतालभित्र हत्कडी खाेलियाे । ओसीएमसी कक्षमा परीक्षणपछि प्रहरीले हत्कडी लगाउन खोज्यो । तर बिजयले शौच गर्छु भनेपछि परीक्षण कक्षभित्रै रहेको शौचालयभित्र छिरे ।
बिजय शौचालय प्रवेश गरेपछि प्रहरी ढोकामा पर्खिएर बस्यो । पाँच मिनेटभन्दा बढी भएपनि उनी निस्किएनन् । भित्रबाट चुक्कुल लगाएका कारण भित्रै छ भन्दै प्रहरी पर्खिएर बसे । तर ढोका नखोलेपछि बाहिरको भेण्टिलेशनबाट हेर्दा उनी थिएनन् । शौचालय पछाडि रहेको रिङमा एउटा चप्पल भेटियो । मान्छे भने फरार थिए ।
सानो भेण्टिलेशनमा एउटा रड थिएन । रड नभएको ठाउँबाट बाहिर निस्कने क्रममा एउटा चप्पल भित्रै छुट्यो । एउटा चप्पल भित्रै छुटेपछि उनले अर्काे चप्पल बाहिर छोडेर खाली खुट्टा भागे ।
भेन्टिलेशनबाट हामफालेर भागेपछि खैलाबैला मच्चियो । विराटनगरका सबै नाकामा प्रहरीले सतर्कता उच्च बनायो ।
अस्पतालबाट खाली खुट्टा भागेका बिजय दुई घण्टापछि अस्पतालबाट करिव तीन सय मिटरको दूरीमा रहेको शहीद रंगशाला छेउमा रहेको एउटा नास्ता पसलबाट पक्राउ परे ।
इलाका प्रहरी कार्यालय बेलबारीले उनलाई मंगलबार पक्राउ गरेर स्वास्थ्य परीक्षण र जबरजस्ती करणी मुद्दामा म्याद थप गर्न विराटनगर ल्याएको थियो ।
भेन्टिलेशन खुल्ला रहेका कारण सुरक्षामा रहेका प्रहरीको आँखा छल्दै पछाडिबाट भागेका थुनुवा खोज्न दुई घण्टा लागेको प्रहरी स्रोतको भनाइ छ ।
खाली खुट्टै भागेका उनले लगाएको मध्ये एउटा चप्पल शौचालयभित्र र अर्को बाहिर फेला परेको थियो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले फरार भएका थुनुवालाई एउटा पसलबाट खाजा खाइरहेका बेला पक्राउ गर्न सकिएको बताए ।
प्रहरीले सरदारविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन बुधबार जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । उनी माथि ३० असार राति १० बजेतिर १९ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोप छ ।