सुनसरी, साउन ३२
सुनसरीको झुम्का कारागारका चारजना बन्दीलाई कोरोना संक्रमण पुष्टि भएको छ । २६ साउनमा कारागार आएका १९,२० २१ र ४० वर्षका चार बन्दीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।
झुम्का कारागारका जेलर अनिल खनालका अनुसार उनीहरु धनुषा जिल्लाका हुन् । जिल्ला अदालत, धनुषाले ठगी मुद्दाका दुई, जरवजस्ती करणी उद्योगका एक र जरवजस्ती करणी उद्योग तथा शरिर बन्धक मुद्दामा एकजनालाई पुर्पक्षका लागि झुम्का पठाएको थियो ।
धनुषामा कारगार छैन् । कारागार नभएका कारण अदालतले चार जनालाई झुम्का पठाएको खनालले बताए ।
कारगारको छुट्टै स्थानमा राखेर कोरोना जाँच गर्दा पोजेटिभ आएको खनालले बताए । ‘नयाँ कैदी बन्दीलाई पीसीआर जाँच नगरी भित्र राख्दैनौं’ उनले भने, ‘बाहिरी राखेर पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको हो ।’
संक्रमण पुष्टि भएकाहरुको अवस्था सामान्य छ । उनीहरुलाई छुट्टै स्थानमा राखिएको छ ।
कारागार भित्र १ हजार ७ सय १३ जना कैदीबन्दी छन् । संक्रमण नियन्त्रणका लागि नयाँ कैदी बन्दीलाई कोरोना जाँच पछि मात्र अनुमति दिइदै आएको खनालले बताए ।