मेचीको साधारणसभा शुरु, झण्डै २ अर्बको कारोबार, कृषि कर्जामा सहज

सेयर गर्नुहोस्

झापा, साउन २८
दमकमा मुख्य कार्यालय भएको मेची सहकारी संस्थाले अघिल्लो आर्थिक बर्षमा झण्डै दुई अर्ब रुपैयाँको कारोबार गरेको छ ।
कोरोना महामारीका कारण उत्पन्न असहज परिस्थितिका बाबजुद आर्थिक बर्ष २०७६र०७७ मा पूर्व निर्धारित सबै लक्ष्यहरु पार गर्दै कारोबार बढाउन सफल भएको हो । संस्थाले गत आर्थिक बर्षमा एक अर्ब ९३ करोड, ३९ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार गरेको व्यवस्थापक खोम प्रसाद बगालेले जानकारी दिए । सो बर्ष संस्थाले शेयर पुँजीमा ४९.६७ प्रतिशत, निक्षेप तथा वचतमा ३८.६२ प्रतिशत, कर्जा लगानीमा २६.६५ प्रतिशत र कोष तर्फ ३५.६१ प्रतिशतले बृद्धी दर हासिल गरेको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।


संस्थाले यस बर्षको कोरोना महामारीका कारण विश्वभर आईपरेको विपदबाट पाठ सिक्दै आफ्ना सदस्यहरुका लागि विदत् बचत योजना खाता सञ्चालनमा ल्याउने पनि जनाइएको छ । सबै किसिमका विपत्तका घडीमा सदस्यहरुलाई आत्मनिर्भर बनाउनु र सहज परिस्थितिमा बचत असहजमा उपभोग गर्ने बानीको विकास गराउन, र जटिल प्रकृतिका रोगहरु लाग्दा उपचारका लागि ऋण लिनु पर्ने बाध्यता हटाउन यस योजनाले महत्वपूर्ण सहयोग पुरयाउने विश्वास संस्थाले लिएको छ । त्यसैगरी कृषि उद्यमका लागि ऋण लिएका सदस्यहरुलाई ऋणको किस्ता ६ महिनामा मात्रै तिरे पुग्ने व्यवस्था यस बर्षदेखि गर्न लागिएको व्यवस्थापक बगालेले बताए ।

पत्रकारहरू पुरस्कृत हुदै
संस्थाले पूर्व अध्यक्ष स्व.गणेश प्रसाद बस्नेतको स्मृतिमा स्थापना गरेको स्व.गणेश प्रसाद बस्नेत सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार गिरीराज भट्टराई पुरस्कृत हुने भएका छन् ।
सहकारीले आफनो २४ औं बार्षिकोत्सव तथा २६ औं बार्षिक साधारणसभामा उनलाई सो पुरस्कार प्रदान गरिने जनाइएको छ । उनी संगै स्व. गणेश प्रसाद बस्नेत सहकारी अभियान्ता पुरस्कारवाट यसवर्ष ओमदेवी मल्ललाई तथा मेची सहकारी पुरस्कार उर्लावारीका पत्रकार रुपेन्द्र शेर्मा र मेची सञ्चार गृह पुरस्कारवाट विर्तामोडको साझा मञ्च मिडीयालाई प्रदान गरिने कार्यक्रममा जनाइयो । संस्थाले १२ भदौमा साधारण सभा गर्दै आएकोमा यस बर्ष आज २८ साउनदेखिनै क्षेत्रगत रुपमा चरणबद्ध साधारण सभा गर्ने जनाइएको छ । १२ भदौ सम्मा सबै सदस्यहरुमाझ साधारण सभाकै रुपमा पुगेर आवश्यक राय सुझाव समेत लिँदै साधारण सभा सम्पन्न गरिने व्यवस्थापक बगालेले जनाए ।