१०२ दिन पछि कोरोना संक्रमित भेटिएपछि न्युजिल्यान्डमा पुनः लकडाउन

सेयर गर्नुहोस्

तीन महिनापछि पुनः कोरोना संक्रमित भेटिएपछि न्युजिल्यान्डमा आगामी महिनामा हुने भनिएको आम निर्वाचनको चुनावी प्रक्रियामा ढिलाइ हुने भएको छ।

प्रधानमन्त्री जेसिन्दा अर्डनले बुधबार अर्को महिना हुने आम निर्वाचन पछाडि सार्ने घोषणा गरेकी छन्।

चुनावी प्रक्रियामा विलम्ब हुनेभएपछि अर्डनले संसद विघटनलाई समेत स्थगित गरिएको बताएकी छन्। चुनावी तालिका सेप्टम्बर १९ सम्मका लागि निर्धारित गरिएको थियो। चुनाव कहिले गर्ने भन्ने बारे नयाँ मिति नतोकिएको प्रधानमन्त्रीको भनाइ छ।

नोभेम्बर २१ भन्दा अगाडि कुनै पनि मितिमा चुनाव गर्न सकिने उनले मिडिया कन्फ्रेन्समा बताएकी छन्।

अकल्यान्ड सहरमा एकै परिवारका चार जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरुलाई संक्रमण हुनुको स्रोत भने पत्ता लागेको छैन। संक्रमित चार जनालाई नै घरमै आइसोलेसनमा राखिएको छ। 

१०२ दिनपछि कोरोना संक्रमण देखिएपछि न्युजिल्यान्ड सरकारले पुनः लकडाउन गर्ने भएको हो।

अकल्यान्डमा तीन दिनसम्म लेभल थ्री को प्रतिबन्ध लगाइएको छ। त्यहाँका मानिसहरुले अत्यावश्यक बाहेकको अवस्थामा घर बस्न र आवश्यक सर्तकता अपनाउन भनिएको छ। त्यसबाहेक देशको अन्यत्र भागमा लेभल टु को प्रतिबन्ध लगाइएको छ।

न्युजिल्यान्डमा अहिलेसम्म कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ। अहिलेसम्म एक हजार दुई सय २० जना संक्रमित भएका छन्।