मिलन अधिकारी
गाैरादह, साउन २७
स्थानीय सरकारले राम्रो काम गर्ने उपभोक्तालाई प्रेरित गर्न सम्मान थालेका छन् । उपभोक्ता समितिबाट गुणस्तरीय र प्रभावकारी काम भएको भनेर गौरादहमा एउटा उपभोक्ता समितिलाई सम्मान गरिएको छ ।
गौरादह १ को चारआलीको लालपैनी खोलामा निर्माण गरिएको ७ मिटर लामो बक्स कल्भर्ट नगरमा नै उत्कृष्ट भएको भनेर सम्मान गरिएको हो । उपभोक्ताको एक लाख र वार्डको २० लाख रुपैयाँमा निर्माण गरिएको कल्र्भटको वार्ड अध्यक्ष नगेन्द्र भण्डारीले उद्घाटन गरे । उनले नगरमा सञ्चालिन योजना मध्ये उपभोक्ता समितिमार्फत गरिएको गुणस्तरीय योजना भएको दाबी गरे । उनले उपभोक्ता समितिलाई सम्मान समेत गरेका छन्
उपभोक्ता समितिका अध्यक्ष दुर्गा कुमार दाहालले न्युन लागतमा उत्कृष्ट काम भएको बताए । स्थानीय उपभोक्ताहरुको सक्रियतामा ठेकेदार बिना नै स्थानीय आफैले कल्र्भट बनाएको टोल विकास संस्थाका अध्यक्ष छत्रबहादुर श्रेष्ठले बताए । कल्र्भट निर्माण भएपछी खोला तर्न सहज भएको स्थानीय शारदा रिजालले बताइन् ।
कल्भर्ट नहुन्जेल राति पानिपर्दापनि खोला कसरी तर्ने भनेर डर लाग्ने गरेको बताउदै उनले भनिन्, अब त धेरै सहज हुने भयो । भीम बहादुर गुरुङले बालबालिकालाई विद्यालय जान सहज भएको बताए ।