अस्पतालले भर्ना नलिए पछि किशाेरकाे ज्यान गयो, काेराेना रिपोर्ट भने नेगेटिभ

सेयर गर्नुहोस्

झापा– झापाका तीनवटा अस्पतालमा उपचार नपाएर अन्ततः मेची अस्पताल भद्रपुरमा ज्यान गुमाएका कनकाई नगरपालिका ५ का १७ किशोर सुनारको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

मेची अस्पताल भद्रपुरका चिकित्सक डा. गोविन्द कँडेलका अनुसार मंगलबार साँझ आएको सुनारको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो।

मंगलबार बिहान सुनारको मेची अस्पताल भद्रपुरमा मृत्यु भएको थियो।

केही दिनअघि फुटबल खेल्दा बलले छातीमा लागेर सुनार घाइते भएका थिए।

घरमै आराम गरिरहेका उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयो। उनी झापाको विर्तामोडमा रहेको बिएण्डसी अस्पताल उपचारका लागि आए। त्यो बेला उनको श्वासप्रश्वासमा समस्या भइरहेको थियो।

कोरोना भाइरसको सङ्क्रमणको शंका गरेर बिएण्डसी अस्पतालले पिसिआर रिपोर्ट माग्यो र उपलब्ध नगराए उपचार गर्न नसकिने उक्त अस्पतालले जानकारी दियो।

त्यहाँ उपचार सम्भव नभएपछि विर्तामोडकै कनकाई अस्पताल उपचारका लागि गए। त्यहाँ पनि पिसिआर रिपोर्ट मागे। त्यहाँ पनि सुनारको उपचार सम्भव भएन।

मंगलबार बिहानको राति करिब २ बजेतिर उनलाई लिएर उनका अभिभावक मेची अस्पताल भद्रपुर पुगे। मेची अस्पताल भद्रपुरले भर्ना गरेर उपचार शुरु गरेको थियो। तर केही क्षणपश्चात शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि उनलाई भ्यान्टिलेटरसहितको सघन उपचार चाहियो।

मेची अस्पतालमा उक्त सुविधा नभएपछि भ्यान्टिलेटरका लागि भद्रपुरकै ओम साई पाथिभरा अस्पताल सुनारलाई रेफर गरियो। त्यहाँ पनि पिसिआर कै रिपोर्ट मागेपछि उनलाई लिएर उनका अभिभावक फेरि मेची अस्पताल नै पुगे। त्यहाँ इमरजेन्सी कक्षमा उनको मृत्यु भएको मेची अस्पतालका चिकित्सक डा. गोविन्द कँडेलले जानकारी दिए।

झापाको विर्तामोडमा रहेको विर्तासिटी अस्पतालले सुनारलाई उपचारका उक्त अस्पतालमा नल्याइएको जनाएको छ।

अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले विर्तासिटी अस्पतालमा उपचारका लागि ल्याइएको भनेर समाचार प्रकाशित भएपछि उनको रिकर्ड तथा सिसिटिभी फुटेज हेर्दा त्यस्तो नपाइएको बताए।

उनले भने, ‘हामी सबै रेकर्ड हेर्दा हाम्रोमा ती विरामी आएको पाएनौं।’

विर्तासिटीमा नभइ सुनारलाई बिएण्डसी अस्पताल लगिएको परिवारका सदस्यले बताएका छन्।