कोरोना संक्रमितको संख्या बढ्दै : मुख्यमन्त्री शेरधन राईकाे सरोकारवालासँग छलफल

सेयर गर्नुहोस्

विराटनगर : प्रदेश १ मा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मुख्यमन्त्री शेरधन राईले नियन्त्रणका लागि सरोकारवालासँग छलफल गरेका छन्।  मंगलबार भर्चुअल बैठक राखेर मुख्यमन्त्री राईले प्रदेशभरका जनप्रतिनिधि, सुरक्षा निकाय, स्वास्थ्य क्षेत्रका विज्ञ र उद्योगी सँग छलफल गरेका हुन्। 

प्रदेशका सबै मन्त्रीसमेत सहभागी छलफलमा सरोकारवालाले दिएको सुझावका आधारमा सरकारले कोरोना भाइरस नियन्त्रणका लागि थप रणानीति तयार पार्ने मुख्यमन्त्री राईले बताए।  

बैठकमा सहभागीले प्रदेशका मुख्य सहर र मास बाक्लो हुने क्षेत्रमा मात्रै बढी कोरोनाको असर बढी देखिएकाले आवश्यकता, समन्वय र ठाउँ अनुसार मात्र लकडाउन गर्नुपर्ने सुझाव मुख्यमन्त्रीलाई दिए।

मुख्यमन्त्री राईले तीनै तहबीच आवश्यक समन्वय हुनु पर्ने बताए। ‘तीनै तहबीच आवश्यक समन्वय हुनुपर्छ,’ मुख्यमन्त्री राईले भने, ‘समन्वय भए कोभिड महामारी नियन्त्रणको काममा सहज हुन्छ, सबैले समन्वयमा काम गरौँ।’

सबैभन्दा बढी संक्रमण फैलिएको झापा, मोरङ, सुनसरी, उदयपुरका प्रमुख जिल्ला अधिकारीले आफ्नो जिल्लाको बारेमा मुख्यमन्त्रीलाई जानकारी गराएका थिए। 

छलफलमा उद्योगी व्यवसायीले निजी अस्पताल र होटललाई पनि आइसोलेसन बनाउन सुझाव दिए। उनीहरुले लकडाउन समन्वय गरेर मात्र गर्नुपर्ने नत्र त्यसको कुनै अर्थ नरहने बताए। 

यता स्वास्थ्य क्षेत्रका विज्ञले अस्पतालबीच समन्वय गर्नुपर्ने बताए। दीर्घरोगीको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने र यसमा सबै तहले साथ दिनुपर्ने उनले बताए। बैठकमा स्वास्थ्य क्षेत्रबाट डा. सञ्जीव शर्मा, डा. सूर्य पराजुली, पंकज खतिवडा, डा. मोहन, डा. शंकर अधिकारीको उपस्थिति थियो।