सङ्क्रमित बढ्न थालेँ पछि,धरानले ५० बेड क्षमताको आइसोलेसन बनाउँने

सेयर गर्नुहोस्

धरान । धरान उपमहानगरभित्र समुदायमा कोरोना भाइरसको सङ्क्रमित थपिँदै गएपछि नगरले आइसोलेसन बनाउने तयारी थालेको छ ।

भाइरस सङ्क्रमितको चाप बढ्दै गएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आइसोलेसन अभाव हुन थालेपछि नगरले आइसोलेसनका लागि पहल थालेको हो । नगरमा सोमबार मात्रै २ महिलासहित ९ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । यो बेलामा बीपी प्रतिष्ठानमा रहेको कोभिड १९ अस्पताल सञ्चालनमा नआएपछि नगरले बाध्य भएर आफै नै ५० बेडसम्मको आइसोलेसन बनाउने तयारी थालेको नगर प्रमुख तिलक राईले जानकारी दिए ।

‘कोरोना सङ्क्रमित दैनिक बढ्न थालेँ, कोभिड १९ अस्पताल पनि सञ्चालनमा ल्याइएन, बीपीको आइसोलेसन पनि भरिँदै गएको छ, बिरामीको चाप थेग्न निकै समस्या भयो’–उनले फोनसम्पर्कमा भने, ‘नगरभित्रैका होटल तथा धर्मशालाहरूसँग आग्रह गरेका छौं । नगरले धरान नगरभित्रका केही होटल तथा धर्मशालासँग आइसोलेसन बनाउनका लागि छलफल थालेको उनले जानकारी दिए ।

नगरले कम्तीमा पनि ५० बेड क्षमताको आइसोलेसन बनाएर थप हुनसक्ने सङ्क्रणलाई रोक्ने तयारी थालेको हो । धरानमा सोमबारसम्म ५५ जना सङ्क्रमित पुगिसकेका छन् । साउन १४ गते धरानको औद्योगिक क्षेत्रको प्रिती भल्भ एण्ड फिटिङ्स इण्डष्ट्रिज प्रालिमा अडिटरका रूपमा कार्यरत धरान–१३ का २८ वर्षीय युवकमा कोरोना देखिएपछि समुदायमा कोरोना फैलिएको अनुमान गरिएको थियो । त्यसयता प्रिती भल्भमा मात्रै काम गर्ने ६ जनालाई कोरोना भएको थियो भने प्रिती भल्भकै कर्मचारीका कारण धरान ३ का एकै परिवारका ५ जनालाई कोरोना पुष्टि भएको थियो ।

धरानमा ट्राभल हिस्ट्री नभएकी धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारी सुवेदीको घरमा कार्यरत एक महिला, उनको आमा र १० वर्षीय छोरामा पनि कोरोना देखिएपछि थप चिन्ताको विषय बनेको छ । धरानमा क्रञ्च फिटनेसमा आउने ५ जना युवामा पनि कोरोना देखिएको छ । कोरोना सङ्क्रमित फैलिँदै जाँदा आइसोलेसनको अभाव टड्कारो रूपमा खट्किँदै गएको छ ।