गाैरादह १ काे प्रगति विवरण सार्वजनिक

सेयर गर्नुहोस्

मिलन अधिकारी

गाैरादह, साउन २६

गौरादह नगरपालिका वडा नम्बर १ ले वडाको ३ बर्षे प्रगति बिबरण सार्वजनिक गरेको छ । आज वडा कार्यालयमा वार्ड अध्यक्ष नगेन्द्र भण्डारीले भएका कामको विवरण प्रस्तुत गरेका हुन् ।
कार्यक्रममा उनले गौरादह पोखरीलाई गौरवका योजनाको रुपमा विकास गर्ने गरि काम अघि बढेको बताए । त्यसका लागि नगरपालिकाले यस बर्ष १ करोड रुपैयाँ बिनियोजन गरेको उल्लेख गरे । यस्तै प्रदेश सरकारले समेत पोखरीको विकासका लागि १ करोड ३० लाख रुपैयाँ बिनियोजन गरेको बताए ।
वार्ड समितिको नेतृत्व लिएको ३ बर्षमा ग्राबेल सडक, पुल कल्भर्ट, ह्युम पाईप, भौतिक संरचना तथा बजार, खानेपानी , बिद्युत बिस्तार सँगै उद्यमशिलता विकासको काम गरेको भण्डारीले बताए । चालु आर्थिक बर्षमा वडाको सिलिङ बजेट अन्तर्गत संचालन हुने १ करोड २० लाखको रुपयाँको योजनाहरु सार्वजानिक गरे । यस्तै यो अवधिमा उनको वार्डमा कालोपत्रे सडक, उच्चस्तरीय गाभ्रेलको काम समेत भएको बताए ।
भण्डारीले गौरादहको बजारलाई नमुना बजारको रुपका विकास गर्नका लागि काम भएको बताए । यस्तै गौरादहको पहिचान झल्कने गरि मुर्ति निर्माण सकिएको उल्लेख गरे । नगरकै ठुलो वार्ड भएको र नगर विकासका लागि आयको झण्डै २५ प्रतिशत रकम आफ्नो वार्डले उठाउने गरेको दाबी भण्डारीको छ ।