विराटनगर, साउन २६
जिल्ला अदालत मोरङका एकजना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार चारजनाको स्वाब संकलन गर्दा एकजना न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
न्यायाधीशलाई कोरोना संक्रमण देखिएपछि गरिएको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । क्यान्ट्याक्ट टे्रसिङमा रहेका ४० जनाको स्वाब संकलन गर्ने तयारी भइरहेकेा उनले बताए ।
नोबेल मेडिकल कलेजका दुई स्वास्थ्यकर्मीमा पनि कोरोना
विराटनगरको नोबेल मेडिकल कलेजमा थप दुईजना स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार सोमबार एकजना डाक्टर र एकजना नर्सको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
यससँगै नोबेल मेडिकल कलेजमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या ४ पुगेको छ । शनिबार नोबेलका दुईजना चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो ।
कोरोना संक्रमित चिकित्सकलाई अस्पतालले आफ्नै आइसोलेसनमा राखेको दाहालले जानकारी दिए ।