अब हाेटल र निजी अस्पतालमा आईसोलेसन

सेयर गर्नुहोस्

विराटनगर, साउन २५

स्थानीय तहसंगको समन्वयमा प्रदेश १ सरकारले थप तीन सय बेड क्षमताको आईसोलेसन संचालन गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको प्रदेशस्तरीय क्राइसेस म्यानेजमेन्ट सेन्टरको बैठले स्थानीय तहहरुमा आईसोलेसन सेन्टर चलाउने निर्णय गरेको हो ।
स्थानीय तहसमेतको साझेदारी र सहकार्यमा विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाज विराटनगर, रंगेली नगरपालिका वडा नं. ७ स्थित श्रीजनता क्याम्पसको भवन, सुनसरी जिल्लाको हरिनगर गाउँपालिका १ स्थित वि.जेनेरल अस्पताल र बराहक्षेत्र नगरपालिकास्थित कृष्णदास आश्रम चतरामा कोभिड १९ को संक्रमित लक्षणविहीन व्यक्तिहरु राख्नका आइसोलेसन केन्द्र संचालन गर्ने निर्णय गरेको हो । विराटनगरमा ५० बेड, रंगेलीमा १०० बेड, हरिनगरामा ५० बेड र चतरामा १०० बेड क्षमताको आइसोलेसन केन्द्र हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

कोभिड १९ का संक्रमितहरुको संख्या दिनानुदिन बृद्धि भइरहेको सन्दर्भमा आइसोलेसन बेडहरुको संख्या थप्न प्रदेश सरकारले झापा, मोरङ्ग र सुनसरी जिल्लामा प्रत्येक जिल्लामा एक र एकवटा निजी होटल तथा निजी अस्पतालमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने समेत निर्णय भएको छ ।

बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार गरेको लकडाउन खुले पश्चात कोभिड १९ रोकथाम, प्रतिकार्य र नियन्त्रण सम्बन्धी कार्ययोजना, २०७७ स्वीकृत गर्ने निर्णयसमेत गेको छ । यसैगरी मृतकमा श्रद्धाञ्जी र परिवारमा समवेदना पनि व्यक्त गरेको छ ।