मिलन अधिकारी
गौरादह साउन २५
भारतको मुम्बइमा अलपत्र बनेका गौरादह ४ का बालकृष्ण चौलागाई घर आइपुगेका छन् । मानसिक सन्तुलन गुमाएका उनी ७ महिनादेखि मुम्बइमा सडकको पेटीमा भौतारिदै थिए ।
भारतका सडकमा जसले दिएका खानेकुरा खाने गरेको भिडियो सामाजिक सन्जालमा पोष्ट गरिएपछी अमेरिकामै भएका गौरादहका मोहन उप्रेतीले हेरे । उप्रेतीले अर्का साथी तोया पौडेललाई पठाए । पौडेलले गौरादहमै रहेका दाइ शान्तीराम र भाइ गोपाललाई भिडियो पठाए । अनि पत्ता लाग्यो उनी चौलागाई माल्दाई’का छोरा रहेछन् ।
चौलागाईको त्यो भिडियो, महाराष्ट्र बस्ने शंकर पाठकले बाहिर ल्याएका थिए । उनै पाठको सहयोगमा चौलागाइमा ल्याउने प्रयत्न गरिदै थियो । कोरोनाको महामारीमा ल्याउने तयारी हुदाहुदै चौलागाईलाई फेरि सडकमा गाडीले ठक्कर दियो । यहीँ विचमा पाठकले गाडी रिजर्भ गरेर नेपाल सम्म ल्याउने वातावरण बनाए । त्यसका लागि अमेरिकामा भएका नेपालीले सहयोग संकलन गरेका थिए । बाढी पहिरो, सडकको अस्तब्यस्तताका विच उनी शनिबार परिवारसँग आइपुगेको अमेरिकाबाट तोया पौडेलले बताए । पाैडेलले सहयाेग गर्ने सबैलाइ धन्यवाद दिएका छन् ।