दशमलब छुट्दा बिग्रिएकाे एउटा हिसाब !

सेयर गर्नुहोस्

सिरहा, साउन २५

शनिबार दिनभर सामाजिक सञ्चालमा एउटा पत्र भाइरल भयो। पत्र थियो, सिरहा नगरपालिकाले जिल्ला प्रशासन कार्यालय सिरहालाई पठाएको खर्च विवरणकाे। नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नगरपालिका कार्यालय र वडा कार्यालयबाट वितरण भएको राहत तथा खर्चको विववरण प्रशासन कार्यालयमा पठाएको थियो।

नगरपालिकाले २१ वटा सामानको विवरण र मूल्यसूचीसहित प्रशासन कार्यालयलाई बुझाएको पत्र बाहिरिएको थियो। जुन विवरणमा उल्लेख भएको सिरानी (तकिया)को खोलको मूल्यलाई लिएर सामाजिक सञ्चालनमा चर्चा भएको हाे। चर्चामा आएको विषयमा हामीले नगरपालिका कार्यालयमा सम्पर्क गरेका थियाैं। नगरपालिकाले तकियाको खोलको रकममा एउटा दशमलब छुट्दा बढी मूल्य परेको देखिन आएको स्वीकार गरेको छ।

कार्यालयले विवरणमा भएको कमजोरी सच्चाएर जिल्ला प्रशासन कार्यालयलाई नयाँ विवरण पठाइसकेको जनाएको छ। तकियाको खोलको मूल्य विवरणमा ३ लाख १९ हजार २ सय ७५ रुपैयाँ उल्लेख छ। तर, उक्त मूल्यमा एउटा दशमलब छुट्दा बढी हुन आएको कार्यालयको भनाइ छ

कार्यालयले कूल १ सय ११ थान तकियाको खोल ३१ हजार ९ सय २७ रुपैयाँ ५० पैसामा खरिद गरेको थियो। तर, विवरण पठाउँदा ७ पछाडि दशमलब हुनु पर्नेमा दशमलब छुट्दा रकम बढी भएको कार्यालयकाे भनाइ छ। कार्यालयले एउटा तकियाको खोल २ सय ८७ रुपैयाँ ६३ पैसाकाे दरमा १ सय ११ थान किनेको जनाएको छ। तर, मानवीय त्रुटिका कारण एउटा तकियाको खोलको मूल्य प्रतिपिस २ हजार ८ सय ७६ रुपैयाँ ३५ पैसा परेको विवरण बाहिर आएको कार्यालयले जनाएको छ।

यसैगरी कार्यालयले तन्नाको मूल्यमा पनि एउटा दशमलब छुट्दा बढी रकम हुन गएको स्वीकार गरेको छ। कार्यालयले ५ सय ५८ थान तन्ना खरिदमा ४ लाख ५० हजार ३ सय ७७ रुपैयाँ ५० पैसा खर्च गरे पनि दशमलब छुट्दा ४५ लाख ३ हजार ७ सय ७५ रुपैयाँ हुन गएको जनाएकाे छ।