२५ साउन, काठमाडौं । जोस बटलर र क्रिस वोक्ले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टोली इंग्ल्याण्डले पाकिस्तानविरुद्धको पहिलो टेस्ट जितेको छ ।
म्यानचेस्टरमा भएको टेष्टमा चौथो दिनमै जित हात पार्ने क्रममा इंग्ल्याण्डले शनिबार पाकिस्तानलाई ३ विकेटले पराजित गरेको हो । रोमाञ्चक खेलमा जितपछि इंग्ल्याण्डले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
ओल्ड ट्राफोर्डमा पाकिस्तानले दिएको २७७ रनको लक्ष्य इंग्ल्यान्डले ८२.१ ओभर खेल्दै ७ विकेट गुमाएर पुरा गरेको हो । इंग्ल्यान्डको जितमा क्रिस वोक्स र जोस बट्लरले अर्धशतक प्रहार गरे । उत्कृष्ट ब्याटिङ गरेका वोक्स ८४ रनमा अविजित रहे । उनले १२० बल खेल्दै १० चौका प्रहार गरे ।
विकेटकिपर बटलरले ७५ रन योगदान गरे । ११७ रन हुँदा ५ विकेट गुमाएपनि वोक्स र बटलरले छैटौं विकेटका लागि १३९ रनको साझेदारी गर्दै जितको आधार खडा गरेका थिए ।
यस्तै कप्तान जोय रुटले ४२ र डम सिब्लीले ३६ रन बनाए ।
पाकिस्तानका लागि यासिर शाहले ४ विकेट लिए भने शाहिन शाह अफ्रिदी, मोहम्मद अब्बास र नासिम शाहले १-१ विकेट लिए ।
त्यसअघि पाकिस्तान दोस्रो इनिङ्समा १६९ रनमा अलआउट भएको थियो । १३७-८ बाट दिनको खेल सुरु गरेको पाकिस्तानले थप ३२ रन जोड्दा २ विकेट गुमाएको हो । पाकिस्तानका लागि दोस्रो इनिङ्समा यासिर शाहले सर्वाधिक ३३ रन बनाएका थिए ।
इंग्ल्यान्डका लागि स्टुवार्ड ब्रोडले ३ विकेट तथा बेन स्टोक्स र क्रिस वोक्सले २-२ विकेट लिए ।
पहिलो इनिङ्समा पाकिस्तानले ३२६ र इंग्ल्याण्डले २१९ रन बनाएको थियो ।