भदाै १ देखि नखुल्ने भए उडान र स्कूल

सेयर गर्नुहोस्

काठमाण्डाै, साउन २५

अन्तर जिल्ला यातायात तथा बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखुल्ने भएको छ । कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले १५ दिनका लागि स्थगित गर्ने प्रस्ताव गरेको हो ।

५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।

तर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले भदौ १ गतेबाट खुला गर्ने भनिएको सबै क्षेत्र भदौ १५ सम्म नखोल्ने प्रस्ताव तयार पारेको छ ।

बैठकले बैंक, संघ संस्थामा ५० प्रतिशत मात्र कर्मचारी काममा बोलाउन र ५० प्रतिशतलाई घरमा राखेर ७ वा १५ दिन आलोपालो गर्न प्रस्ताव गरेको छ ।

सीमामा थप कडाई

सीसीएमसीको बैठकले अन्तराष्ट्रिय सीमा नाकाहरुमा थप कडाई गर्न सिफारिस गरेको छ । भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारिनेछ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गरिनेछ ।

तोकिएको प्रवेश बिन्दुबाट आवतजावत भइरहेको र समिापार बजार क्षेत्रमा समेत कारोना संक्रमण फैलिएको भन्दै सीसीएमसीले दैनिक रुपमा किनमेल गर्न, कामदार ल्याउन हुने आवतजावततलाई पूर्ण रुपमा बन्द गर्न सिफारिस गरेको छ ।

यसबारे औपचारिक निर्णय भने भोलि सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले गर्ने एक मन्त्रीले जानकारी दिए ।

बैठकले स्थानीय तहको समन्वयमा थप आइसोलेसन र क्वारेन्टिन स्थलहरु व्यवस्था गर्ने निर्णय गरेको छ ।

अधिकांश जिल्लामा संक्रमितको संख्या बढ्दै गएकाले आइसोलेसनको अभाव देखिएकाले स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए ।

जनस्वाथ्यका मापदण्ड पालना नगर्न संक्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष निकाल्दे बैठकले  अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न आग्रह गरेको छ ।