श्रीमानकाे काेराेनाले मृत्यु, श्रीमतिकाे रिपाेर्ट नेगेटिभ

सेयर गर्नुहोस्

विराटनगर, साउन २०
सोमबार कोरोना संक्रमणबाट मृत्यु भएका विराटनगरका ७७ वर्षीय वृद्धको श्रीमतीमा कोरोना रिपोर्ट नेगेटिभ देखिएकाे छ । श्रीमानसँगै उपचारका लागि अस्पताल आएकी ६८ वर्षीया महिलाकाे मंगलबार काेराेना जाँच गर्दा नेगेटिभ रिपाेर्रट आएकाे हाे ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले कोशीकै प्रयोगशालामा स्वाब संकलन गरेर परीक्षण गर्दा मृतक वृद्धकाे श्रीमतीमा कोरोना नेगेटिभ देखिएको बताए ।

उपचारका क्रममा वृद्धको मृत्यु सोमबार दिउँसो ३ः१५ बजे कोशी अस्पतालकै आइसोलेसनमा भएको थियो । उनको मृत्यु भएपछि स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यसपछि उनलाई उपचारका लागि लिएर आएकी श्रीमतीलाई आइसोलेशनमा राखेर स्वाब संकलन गरिएको थियो । रिपोर्ट नेगेटिभ आएका कारण सुरक्षित साथ ‘होम क्वारेन्टाइन’मा बस्ने गरी पठाइएको डा. दासले बताए ।

कोरोनाका कारण मृत्यु भएका वृद्धाका श्रीमानलाई भने चार दिनदेखि उनलाई छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने समस्या थियो । मृतकको ‘ट्राभल हिस्ट्री’ फेला नपरेको डाक्टर दासले बताए ।

वृद्धको मृत्युसँगै प्रदेश १ मा कोरोनाका कारण ज्यान गुमाउनको संख्या दुई पुगेको छ । यसअघि गत बुधबार मोरङ सुनवर्षीका एक पुरुषको विराटनगरबाट थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेपछि मृत्यु भएको थियो ।

जंगलमा शव व्यवस्थापन

कोरोनाका कारण वृद्धको मृत्यु सोमबार भए पनि शवको व्यवस्थापन भने मंगलबार मात्रै गरिएको छ । सेनाको शव व्यवस्थापन टोलीले मोरङको कानेपोखरी जंगलमा लगेर शव व्यवस्थापन गरेको हो ।

सेनाको बडी व्यवस्थापन टोली शव बुझ्न ढिलो आएका कारण कोरोनाका कारण मृत्यु भएको भोलिपल्ट मात्रै शवको व्यवस्थापन गर्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ ।