विराटनगर, साउन ३०
विराटनगरस्थित कोशी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
उपचारको क्रममा सिराहको विष्णुपुर गाउँपालिका १ का ४० वर्षिय पुरूषको बिहीबार राती ८ बजे मृत्यु भएको हो ।
निमोनिया भइ स्वासप्रश्वासमा समस्या रहेका विरामीको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिनुभयो । मृतक मंगलबार राती अस्पतालको आइसालेशनमा भर्ना भएका थिए ।
‘कोरोनाको लक्षण देखिएपछि हामीले अस्पतालको आइसोलेशनमा राखेर उपचार गर्दै आएका थियौं,’ डा. दासले भन्नुभयो, ‘रगतको मात्रा पनि कम रहेको विरामीको उपचारको क्रममा अहिले ८ बजे मृत्यु भएको हो ।’ उपचारको क्रममा रहेका विरामीको कोरोनाको लक्षण देखिएपछि बिहीबार दिउँसो ११ बजे स्वाब संकलन गरि परीक्षणको लागि पठाएको थियो ।
प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा ७ बजे कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
यसअघि कोशी अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा विराटनगरका ३ र रंगेलीका एक जना छन् ।
कोरोनाबाट मोरङमा बिहीबारसम्म मृत्यु हुने संख्या ८ पुगेको छ ।
यसैबिच बिहिबार नै कोशिमा निधन भएका बिराटनगर १५ का युबाको भने कोरोना नेगेटिभ रिपोर्ट आएको छ । कोरोनाको लक्षण देखिएकोले उनको स्वाब संकलन गरि परिक्षण गरिएको थियो ।