वीपीकाे सिनेट बैठक विवादमा, काेभिड अस्पताल अलपत्र

सेयर गर्नुहोस्

धरान, साउन ३०

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुक्रबार काठमाडौंमा हुन लागेको ४४औं सिनेट बैठकका विषयमा विवाद उत्पन्न भएको छ। धरानमा कोरोना सङ्क्रमण दैनिक बढिरहेको र उपचारमा समस्या भइरहेका बेला प्रतिष्ठानका पदाधिकारीहरू हतारमा सिनेट बैठक बस्न काठमाडौं हिडेको भन्दै प्रतिष्ठानकै चिकित्सकहरु समेत सिनेट बैठकको विपक्षमा देखिएका छन्।

प्रतिष्ठानमा ४ महिना अघि नै स्थापना भएको कोभिड-१९ अस्पताल हालसम्म पनि प्रयोगमा ल्याइएको छैन। तर बेड खाली नभएको भन्दै प्रतिष्ठानले कोरोना संक्रमितलाई भर्ना नगरेपछिधरान उपमहानगरपालिकाले ५० जनालाई बाहिरै क्वारेन्टाइनमा राखेको छ। धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रतिष्ठानले आफ्नो जिम्मेवारी पूरा नगरेको र स्थानीय तहसँग समन्वय पनि नगरेको बताएका छन्।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९ अनुसार धरानका नगर प्रमुख पनि सिनेट सदस्य हुने व्यवस्था छ। प्रतिष्ठानको नियमावलीले सिनेट सदस्यहरुलाई सिनेट बैठक हुनुभन्दा कम्तीमा २१ दिन अगावै सिनेटका एजेन्डाहरु जानकारी गराइसक्नु पर्ने व्यवस्था छ। तर यसपटकको बैठकमा एजेन्डाबारे जानकारी नगराइएको मेयर राईले बताए। उनी हाल धरानमै कोरोना सङ्क्रमण नियन्त्रणका लागि काम गरिरहेका छन्।

प्रतिष्ठान पदाधिकारीहरू एजेन्डाबिनै सिनेट बैठक गर्न काठमाडौं हिडेपछि प्रतिष्ठानस्थित चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले सरोकारवालाहरुसँग व्यापक छलफलै नगरी प्रतिष्ठानको ४४औं सिनेट बैठक हतारमा गर्न लागिएको भन्दै प्रश्न उठाएको छ। बिहीबार विज्ञप्ति जारी गर्दै समाजले सरकारले निषेधाज्ञा जारी गरिसकेको र कोभिड महामारीको विषम परिस्थितिमा स्वास्थ्य मन्त्रालयले नै जारी गरेको निर्देशनको अवहेलना गर्दै सिनेट बैठक हतारमा आयोजना गरिएको विषयमा जवाफ माग गरेको हो।

विज्ञप्तीमा प्रतिष्ठानको दीर्घकालीन हितका हरेक एजेन्डा सिनेट सदस्य एवम् सरोकारवालालाई समयमै दिएर हरेकले विस्तृत गृहकार्य पश्चात सिनेटमा घनीभूत छलफल गरी तार्किक निश्कर्षमा पुग्नुपर्ने सामान्य सिद्धान्त भएपनि सिनेट सदस्यहरूले बैठकमा पुग्दा पनि एजेन्डा थाहा नभएको विषयमा समेत प्रश्न उठाउँदै समाजले विधिसम्मत ढंगले प्रतिष्ठानको स्थापित मूल्यमान्यतालाई ख्याल गर्न आग्रह गरेको छ। 

समाजका अध्यक्ष डा. विष्णु पोखरेल र महासचिव डा. एसपी रिमालले जारी गरेको विज्ञप्तिमा प्रतिष्ठानका वर्तमान पदाधिकारीको कार्यशैली लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध रहेको भन्दै प्रतिष्ठानको गरिमामाथि धावा बोलेको भन्दै भर्त्सना गरिएको छ।

सिनेट बैठक रोक्न माग
प्रतिष्ठानका विभिन्न ठाउँमा रहेका जग्गा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको स्वार्थमा व्यापारीलाई जिम्मा लगाउन लागिएको भन्दै नेपाली काङ्ग्रेसको भातृ सङ्गठन तरुण दल र नेपाल विद्यार्थी संघले सिनेट बैठक रोक्न माग गरेका छन्।

सिनेट बैठकमा प्रतिष्ठानको नाममा रहेको धरानको छाताचोकस्थित पुरानो अस्पतालको जग्गा व्यापारीलाई जिम्मा लगाउने र मोरङको सुन्दरहरैंचामा रहेको जग्गामा बिपीको नाम हटाएर मदन भण्डारीका नाममा ट्रमा सेन्टर बनाउने तयारी गरेको भन्दै तरुण दल र नेवि संघले विरोध गरेका हुन्। कोरोना सङ्कटका बेला उपचारमा जुट्नु पर्नेमा व्यक्तिगत स्वार्थका लागि बिना एजेन्डा सिनेट बैठक राखिएको भन्दै बैठक स्थगित गर्न समेत उनीहरूको माग छ। 

धरान-१८ बुद्धचोकस्थित पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै दुवै संगठनले विभिन्न १५ बुँदे माग सार्वजनिक गरेका हुन्। हाल घरमै बस्न बाध्य कोरोना सङ्क्रमितहरुलाई तत्काल आइसोलेसनमा भर्ना गर्नु पर्ने, कोभिड अस्पताल ४ महिना पुग्दा पनि सञ्चालन नगरिनुको कारण खोजेर दोषीलाई कारबाही गरिनु पर्ने, कोभिड अस्पताल आवश्यक कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाको प्रत्याभूतिसहित पूर्णसुविधा र क्षमतामा जनप्रतिनिधि, सांसद र विज्ञहरुको अनुगमन पश्चात तत्काल सञ्चालन गर्नु पर्ने उनीहरूको माग छ।

यस्तै पुनर्स्थापना केन्द्रलाई कोभिड अस्पताल बनाएकोले केन्द्रबाट सेवा लिइरहेका बिरामीहरुलाई सेवा व्यवस्थापन गर्नुपर्ने, प्रतिष्ठानका शिक्षक, विद्यार्थी, कर्मचारी, स्वास्थ्यकर्मीहरूलाई संक्रमण अवधिभर प्रतिष्ठान हाताभित्रै सम्पूर्ण व्यवस्थापन गर्नुपर्ने पनि उनीहरूले माग गरेका छन्। 

पत्रकार सम्मेलनमा तरुण दलका नगर अध्यक्ष हिमाल श्रेष्ठले माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए। उनले अबको आन्दोलन स्वास्थ्य सुरक्षालाई ख्याल गरी स्वरुप फेरिने उल्लेख गरे। तरुण दलका क्षेत्र नं १ सुनसरीका कार्यबाहक अध्यक्ष सम्पूर्ण ताम्राकारले प्रतिष्ठानले स्थानीय तहसँग समन्वय नगरी आफूखुसी काम गरेको आरोप लगाएका छन्।