काेराेना त्रासः खाेप नबने के हुन्छ ?

सेयर गर्नुहोस्

विलियम हेसलटाइन

कैयन दशकसम्म एचआइभी एड्सविरुद्धको संघर्षले ठूलो त्रासदी र निराशा जन्माएको थियो। अन्ततः औषधिविज्ञानले सफलता पाएको थियो। कुनै बेला मृत्युदण्डजस्तै बनेको यो रोग अहिले दीर्घ रोगमात्र बनेको छ। कोभिड–१९ को नराम्रो परिदृश्यको कल्पना गर्ने हो भने पनि एचआइभी एड्सको यो अनुभवबाट आशा र सिकाइ दुवै मिल्छ।

त्यति बेला पनि समाधानका लागि खोप नै अन्तिम समाधान होला÷नहोला भन्ने विषयमा स्पष्टता थिएन। वर्तमान संकटको समाधानमा पनि हामीले यो सिकाइलाई भुल्नुहुँदैन।  

एचआइभी एड्स महामारीको सुरुताका म हार्भड विश्वविद्यालयमा एक प्रयोगशालाको प्रमुख थिएँ,  जहाँ हामीले रोगका भाइरोलोजीका बारेमा अनुसन्धान गरेका थियौं। सुरुका नतिजाले एचआइभी संक्रमणले शरीरको प्रतिरक्षा प्रणालीका दुई खम्बा मानिएका ‘बी सेल’ र ‘टी सेल’ लाई निस्तेज पार्ने देखिएको थियो। यस्तो बेला शरीरले बाह्य खतराको पहिचान गरेर त्यसलाई परास्त गर्न खोज्छ तर सक्दैन। मलाई शंका केमा लागेको थियो भने हाम्रो शरीरले परास्त गर्न नसकेको भाइरसलाई खोपले परास्त गर्ला त ? यसको उत्तर अहिले पनि हामीसँग छैन। यो प्रसंगको चर्चा भएको ३५ वर्ष भइसकेको छ।  

त्यसो त कोभिड–१९को खोपको खोजी त्यति धुमिल छैन। तर यो उज्वल पनि छैन। सार्स र मर्सजस्ता रुघाखोकीजन्य रोग पनि फरक खाले कोरोना भाइरसका कारण लाग्छन्। यी दुई रोगको अनुभवले पनि हामीलाई सावधान र आशावादी दुवै हुन प्रेरित गर्छन्। खोपको उद्देश्य शरीरमा सबैखाले भाइरस प्रवेशमा रोक लगाएर अभेद्य ढाल बनाउने होइन। बरु यसले पूरै चेतावनी प्रणालीको विकास गर्छ र बाह्य आक्रमणकारीलाई निस्तेज गर्न शरीरलाई सावधान गराउँछ। यो शीघ्र सूचना र प्रतिरक्षा प्रणालीको प्रतिकार्यका कारण शरीरमा भाइरसले गडबडी गर्न पाउँदैन।

कोरोना भाइरसले संक्रमित सामान्य तथा गम्भीर बिरामीमा प्रतिरक्षा प्रणालीले कसरी काम गर्छ भन्ने अझै प्रस्ट हुन सकेको छैन। उदाहरणका लागि कसरी केही मानिस एन्टीभाइरल औषधि सेवन नगरेर पनि निको हुन्छन्् ? यो आफैंमा एक रहस्यमय विषय बनेको छ। त्योभन्दा पनि हैरानीको विषय के हो भने कोरोना भाइरसबाट निको भएका व्यक्तिलाई अर्काे वर्ष फेरि संक्रमण हुन सक्छ। सार्स र मर्सको यही चरित्र कोभिड–१९ सँग मिल्छ। विभिन्न अध्ययनले के देखाएका छन् भने शरीरले कोभिड–१९ विरुद्ध निर्माण गरेको ‘एन्टीबडी’ को प्रभाव केही समयमै हराएर जान्छ जसले गर्दा पुन संक्रमणको सम्भावना बढ्छ। यो नतिजाले के देखाउँछ भने कोरोना भाइरसविरुद्ध हासिल गरिने ‘हर्ड इम्युनिटी’ अब आएर यथार्थवादी सम्भावनाभन्दा अनुमानको विषय बनेको छ।  

हालको उपाय

एचआइभी एड्स जस्तै हामीले पुनः एकपटक के सोच्नुपर्ने हुन्छ भने के हामीले यसपटक राम्रो नतिजा हासिल गर्न सकौंला त ? सार्स र मर्सविरुद्धका खोप निर्माणको अनुभव र अहिलेसम्मको कोभिड–१९ विरुद्धको खोप निर्माणको प्रारम्भिक अनुभवले के प्रस्ट भएको छ भने यो रोगविरुद्धको अस्थायी सुरक्षामात्र हो। त्यसो त हामीले कोभिड–१९ विरुद्धको खोप निर्माण गर्न सकेनौं भने पनि हामी असहाय हुने छैनौं। एचआइभी एड्सको जस्तै हामीले दुईवटा महत्वपूर्ण रणनीति अख्तियार गर्न सक्छौं। पहिलो हो, हाम्रो आनीबानीमा सुधार र दोस्रो हो, औषधिको निर्माण र उपचार। यो रणनीतिले एचआइभी एड्सले निम्त्याउने जोखिमलाई नाटकीय हिसाबले घटाएको थियो। अहिले पनि हरेक वर्ष १७ लाखको हाराहारीमा मनिसलाई एचआइभी एड्सले संक्रमण गर्छ। यो महामारीको सुरुताका ५ करोडभन्दा बढीको मृत्यु भएको थियो। त्यति बेला रोगको पहिचान भएपछि मृत्युदण्डको सूचनाजस्तै मानिने गरेकोमा अहिले आएर एचआइभीविरुद्धका औषधिको सेवनले यो मात्र एउटा दीर्घ रोग बनेको छ र संक्रमितले जीवनभर औषधि सेवन गरेर बाँच्न सक्ने भएका छन्।  

पहिलो  महत्वपूर्ण कुरा आनीबानी परिवर्तन हो। चुरोट सेवन र रक्सी खाएर गाडी चलाउनेजस्ता नराम्रा आनीबानीविरुद्ध चलाइएका अभियानको सफलताले हामीलाई के सिकाएको छ भने मानव आनीबानी परिवर्तन गर्न कठिन त हुन्छ तर सम्भव छ। अपरिहार्य सामाजिक दूरीसँगसँगै मास्क प्रयोग, घरभित्र हुने भीडभाड नियन्त्रणले कोभिड–१९ नियन्त्रण गर्न सकिन्छ।  

दोस्रो  महत्वपूर्ण कुरा औषधि उपचार हो। एन्टीभाइरल औषधिले सफल रुपमा महामारी नियन्त्रण गर्न सक्छन्। भाइरस पहिचान भएको ३ वर्षपछि मात्र एचआइभीको उपचारका लागि  सफल औषधि पहिचान भएको थियो। जिडोफुडिन नाम गरेको त्यो औषधि २० वर्षअघि क्यान्सर उपचारका लागि बनाइएको थियो। तर यो क्यान्सर रोगको उपचारमा असफल बनेको थियो।  सुरुमा यो औषधिको सेवनपश्चात् एड्स रोगीमा भाइरसको मात्रा घटेको थियो। यसले रोगीको मृत्युलाई पछाडि धकेलेको थियो। तर अधिकांश बिरामीमा त्यो औषधिविरुद्ध लड्ने क्षमता विकास भएपछि यो औषधिको प्रभावकारिता अल्पकालीन बन्न पुगेको थियो। एचआइभीजस्तै क्यान्सर रोगले पनि खास औषधिविरुद्ध प्रतिरोधी क्षमता विकास गर्छ र औषधिको प्रभावकारिता रहँदैन। त्यही कारणले एचआइभीविरुद्ध एउटा खास औषधिमात्र होइन, विभिन्न औषधि मिलाएर दिँदा प्रभावकारी हुने प्रस्ताव मैले गरेको थिएँ। हार्भड विश्वविद्यालयअन्तर्गतको डाना फार्वर क्यान्सर इन्स्टिच्युटको क्यान्सर विभागको अध्यक्षको हैसियतमा मैलै सो प्रस्ताव गरेको थिएँ। सो इन्स्टिच्युटले केही औषधिको सम्मिश्रणले क्यान्सर उपचारमा सहयोग पुग्ने देखाएको थियो। हाम्रो प्रयोगशालाले भाइरसका नयाँ गुणहरु पत्ता लगाएर थप औषधिको खोजी गरेको थियो। एचआइभीको वंशाणुगत अनुक्रम (जिनोम सिक्वेन्स) पत्ता लागेपछि रोगको उपचारका लागि नयाँ अवसर थपिएका थिए। पछि गएर भाइरस बढाउन जिम्मेवार ‘टाट’ र ‘रेभ’ प्रोटिन पत्ता लागेपछि यसलाई रोक्न अन्य औषधिको सिफारिस भएको थियो। त्यस बेलादेखि एचआइभी एड्सको उपचारका लागि अमेरिकाको ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन’ ले २५ वटा औषधि अनुमोदन गरेको छ।  

रोकथामको बाटो  

नशामा दिइने लागुऔषधिको प्रयोग र असुरक्षित यौनपश्चात् पनि एचआइभीका औषधि दिन मैले प्रस्ताव गरेको थिएँ, जसले रोगको नवजात शिशुमा हुने प्रसारणलाई रोक्न सकिन्थ्यो। स्वास्थ्यकर्मी तथा गर्भवती महिलाको सुरक्षाका लागि यो सुझावको अनुसरण पनि गरियो। जिडोफुडिन औषधि सेवन गर्न गर्भवती महिला सुरुमा अनिच्छुक थिए तर एक गर्भवती बाँदरमा भएको परीक्षणले जन्मेको शिशुमा एचआइभी संक्रमण नभएको देखिएपछि यसको प्रयोग हुन थालेको थियो।  

हाल एचआइभी संक्रमित महिलाले विभिन्न औषधि मिलाएर सेवन गर्दा उनले जन्माउने शिशुमा कुनै संक्रमण हुँदैन। एचआइभीविरुद्धको खोप निर्माण असफल भएको स्थितिमा ‘एन्टी एचआइभी’ औषधिको सेवनले संक्रमण रोक्न सक्ने सुझाव मैले दिएको थिएँ। यो कुनै नयाँ अवधारणा होइन। खोप नबनेको अवस्थामा पनि मलेरिया परजीवीले गर्ने संक्रमण तथा शिशुमा श्वासप्रश्वासको समस्या ल्याउने भाइरसको नियन्त्रणमा औषधि सेवन प्रभावकारी देखिएको थियो। तर सेवन गरिने औषधि सुरक्षित र सुविधाजनक हिसाबमा उपलब्ध हुनुपर्छ। मैले त्यति बेला नै सोचेको थिएँ कि एक दिन एचआइभीको उपचारका लागि एउटा पिल औषधि बनाउन सकिन्छ। तीन दशकअघि कल्पना गरेझैं हाल त्यस्तो पिल औषधि बनेको छ जसको नाम हो  ट्रुभाडा। यो औषधि दुईवटा एन्टीभाइरल ड्रगको सम्मिश्रणबाट बनेको हुन्छ। दैनिक रुपमा सेवन गर्दा यसले एचआइभी संक्रमणलाई प्रभावकारी हिसाबले रोक्छ। मानिसले दिनहुँ औषधि सेवन गर्दा थाक्ने भएकाले लामो समयसम्म असर गर्ने औषधिको खोजी जारी  छ। उदाहरणका लागि, परिवार नियोजनका लागि प्रयोग गरिने नरप्लान्ट एकपटक प्रयोग भएपछि एक वर्षसम्म प्रभावकारी हुन्छ।

आशा जारी छ  

कोभिड–१९ जति डरलाग्दो देखिए पनि हामीले एचआइभी एड्सविरुद्ध दशकौंको अनुभवलाई बेवास्ता गर्नुहुँदैन। खोप नबनेको अवस्थामा पनि यो अनुभवले हामीलाई निराश हुनबाट बचाउँछ। सबैभन्दा राम्रो खोप पनि अल्पकालका लागि र आंशिक हिसाबले मात्र सफल भएको अवस्थामा  पनि आनीबानीमा परिवर्तन र विभिन्न एन्टीभाइरल औषधिको सेवन यो महामारी नियन्त्रण गर्न उपयोगी हुनेछन्।

प्रोजेक्ट सिन्डिकेट

(हेजलटाइन वैज्ञानिक तथा संक्रामक रोग विशेषज्ञ हुन्। उनी एक्सेस हेल्थ इन्टरनेसनल नामक अन्तर्राष्ट्रिय थिंक ट्यांकका अध्यक्ष पनि हुन। )

Leave a Reply

Your email address will not be published.