काठमाण्डाै, साउन १९
नेकपाका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पार्टी फुट्नबाट जोगाउने एउटा अन्तिम अस्त्रको रूपमा प्रचण्डले अध्यक्षको पदबाट राजीनामा दिनुपर्ने बताए ।
आफूले प्रधानमन्त्री केपी ओलीसँग भेट्दा प्रधानमन्त्रीले सहमतिमा महाधिवेशन गर्ने कुरा भइसकेपछि एउटा अध्यक्षलाई जबरजस्ती हटाएर हुँदैन बरू प्रधानमन्त्री आफैँले अध्यक्षबाट राजीनामा दिएमा हुनसक्छ भनेको कुरा प्रचण्डलाई सुनाएको र परिआएको खण्डमा त्यो विकल्प प्रचण्डले पनि प्रयोग गर्न सक्ने सुझाव दिएको गजुरेलले बताएका छन् ।
“मैले एक्लै भेट्दा अध्यक्ष प्रचण्डलाई पार्टी एकता बचाउन र गतिरोध तोड्न अन्तिम अस्त्रको रूपमा राजीनामा दिनुपर्ने सुझाव दिएको थिएँ । पछि पूर्वमाओवादीतर्फका स्थायी कमिटी सदस्यहरूको भेलामा पनि वहाँले केही उपाय लागेन भने हरिबोलजीले दिएको सुझाव प्रयोग गर्छु भन्नुभाथ्यो । “नेता गजुरेलका अनुसार उनको सुझाव कार्यान्वयन गर्ने उचित अवसर गत साता आइपरेको थियो जब प्रधानमन्त्रीले एकलौटी रूपमा स्थायी कमिटी बैठक स्थगित गरिदिएका थिए । “बैठक एकतर्फी रोक्दा मलाई पार्टीको कार्यकारी अध्यक्ष भन्ने तर अधिकार प्रयोग गर्न नपाउने अवस्था बनाउने भनेर प्रचण्डले राजीनामाको अस्त्र प्रयोग गर्न सक्नुहुन्थ्यो।“
“आलोपालो त्यागेर कार्यकारी अध्यक्ष स्वीकारेको तर त्यो भूमिका पनि नदिँदा दुवै पद तपाइँनै चलाउनोस् भनेर प्रचण्डले त्यसो गरेको भए प्रधानमन्त्री केपी ओलीले गम्भीर रूपमा सोच्न बाध्य हुनुपथ्यो,“ गजुरेलले बताए ।
स्थायी कमिटीको बैठकमा प्रचण्डले प्रधानमन्त्रीलाई दुवै पद छाड्न नभनेर बरू अहिले दुईजना अध्यक्षको प्रणालीले काम गर्न नसकेका कारण एउटा पद रोज्न भनेको भए पार्टी विवाद अर्कै स्थितिमा रहने थियो र निकास निस्किसक्ने थियो भन्ने उनको बुझाइ छ ।