काङ्ग्रेसमा लाग्याे महाधिवेशनः क्रियाशिल सदस्यता वितरण शुरू

सेयर गर्नुहोस्

काठमाण्डाै, साउन १९

नेपाली कांग्रेसले फागुनमा हुने १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र वितरणका काम सुरू गरेको छ।

कोरोना कहरबीच कांग्रेसले वडा तहमा क्रियाशील सदस्यता फारम भराएको हो। आन्तरिक समायोजन गरिएका ६५ जिल्लाभित्रका वडा तहमा क्रियाशील सदस्यताका काम अगाडि बढिसकेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

संघीय संरचनाअनुसार आन्तरिक समायोजन नसकिएका जिल्ला कार्यसमितिले भने क्रियाशील सदस्यता फारम केन्द्रीय कार्यालयबाट पाएका छैनन्। क्रियाशील सदस्यता बाँड्ने काम वडा तहमा रहेको समितिले गर्ने भएकोले पहिले आन्तरिक समायोजन सक्न कांग्रेसको जिल्ला कार्यसमितिहरूलाई दबाब छ।

‘बाँकी रहेका जिल्लामा समायोजनका काम छिटै टुंगिन्छ,’ शर्माले सेतोपाटीसँग भने, ‘समायोजन सकेका जिल्लामा क्रियाशील सदस्यताका काम अगाडि बढेको छ।’

कांग्रेसले पुस ६ गतेदेखि तल्ला तहमा अधिवेशन गर्दैछ। अधिवेशनका मतदाता क्रियाशील सदस्य हुन्छन्। क्रियाशील सदस्यको अन्तिम नामावली केन्द्रीय कार्यालयबाट तल्ला तहमा पठाएपछि मात्रै अधिवेशनका काम सुरू हुन्छन्।

कांग्रेसमा हरेक महाधिवेशनका बेला क्रियाशील सदस्यता विवाद देखा पर्छ। २०७२ सालमा भएको १३ औं अधिवेशनका बेला पनि क्रियाशील सदस्यता विवाद थियो। त्यसबेला रोकिएको क्रियाशील सदस्यता विवाद सभापति शेरबहादुर देउवाको चार वर्षे नियमित कार्यकालमा समेत टुंगिएन।

१३ औं महाधिवेशनमा कांग्रेसका चार लाख ७० हजार क्रियाशील सदस्य थिए। उपसभापति विजयकुमार गच्छदारबाट समायोजन भई आएकाहरूलाई २५ हजार क्रियाशील सदस्यता दिने सहमतिअनुसार क्रियाशील सदस्यता पाँच लाख पुगेको छ।

यसपटक कम्तिमा दुई लाख क्रियाशील सदस्य थपेर क्रियाशील सदस्यता संख्या ७ लाख पुर्‍याउने कांग्रेसको तयारीअनुसार वडा तहमा अहिले फारम भर्ने काम भइरहेका हुन्।

कांग्रेसले जिल्ला कार्यसमितिलाई गत फागुनमा पत्र पठाएर क्रियाशील सदस्यता साविकको संख्याको ५० प्रतिशतसम्म बढाउन सकिने निर्देशन दिएको थियो।

कांग्रेसको वडा तहमा कम्तिमा ४२ जना क्रियाशील सदस्य हुनु पर्ने नियम छ। कांग्रेसले साधारण र क्रियाशील सदस्यता गरी दुई प्रकारका सदस्यता वितरण गर्छ। साधारण सदस्यता प्राप्त गरेको निश्चित समयपछि संगठनमा उसले पुर्‍याएको योगदान हेरेर क्रियाशील सदस्यता दिने गर्छ। वडा तहबाट दिइएको क्रियाशील सदस्यतामा विवाद भए छानबिनका लागि केन्द्रमा उजुरी गर्न सकिने व्यवस्थासमेत छ।

क्रियाशील सदस्य मध्येबाट क्षेत्रीय प्रतिनिधि बनेकाहरू महाधिवेशन प्रतिनिधिका रूपमा महाधिवेशनका मतदाता हुन्छन्। उनीहरूले नै सभापतिदेखि केन्द्रीय समिति चुन्ने काम गर्छन्।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिका रूपमा आउने चार हजार एक सय २५ प्रतिनिधि र साबिकका केन्द्रीय सदस्य तथा पदाधिकारी महाधिवेशनका मतदाता हुन्छन्।

गत फागुनबाट क्रियाशील सदस्यता वितरण सुरू गर्ने तयारी गरेको कांग्रेसले कोरोनाका कारण पार्टीभित्रका सम्पूर्ण काम चार महिना रोकेको थियो। सभापति देउवाको नियमित कार्यकाल गत फागुनमै सकिएको हो। देउवाले विधानकै व्यवस्था अनुसार एक वर्ष कार्यकाल थपेर फागुन १९ सम्म म्याद बढाएका हुन्।

कोरोना महामारी अझै कायम नै रह्यो र महाधिवेशन गर्ने अवस्था नरहे देउवाले संविधानमा राजनीतिक दलसम्बन्धी दिइएको अधिकार प्रयोग गरी अझै छ महिना म्याद थप गर्न पाउनेछन्।

तर तोकिएकै समयावधि फागुन ७ देखि महाधिवेशन गर्न पार्टीभित्र दबाब छ। सभापति देउवाका पछिल्ला कदमप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले आलोचना गर्दै आएका छन्।

क्रियाशील सदस्यता वितरणमा समेत देउवाले चलखेल गरेको आरोप पौडेल पक्षले लगाउँदै पारदर्शी ढंगले वितरणको माग गरेको छ भने विभागहरू गठन नगर्न भनेको छ। सभापति देउवाले गठन भएका विभागमा सदस्यहरू थपिरहेका छन्।