नेकपा शिर्ष नेताकाे छलफल सकियाे, भाेली फेरि बस्ने

सेयर गर्नुहोस्

काठमाण्डाै, साउन १९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुबीच बालुवाटारमा भएको छलफल सकिएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालबीचको छलफल सकारात्मक भएको बताइएको छ। छलफलमा नेता सुवास नेम्वाङ पनि सहभागी थिए। 

बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष प्रचण्ड तथा नेता खनालले पार्टी विवाद स्थायी कमिटी बैठकबाट टुंगो लगाउनुपर्ने बताएका थिए। तर ओलीले पहिला सचिवालयले टुंगो लगाउनुपर्ने बताउँदै त्यसपछि स्थायी कमिटीमा लैजानुपर्ने धारणा राखेका थिए। ‘पार्टीमा पहिले मोटामोटी सहमति बनाऔं,’ ओलीकाे भनाई उद्धृत गर्दै एक नेताले भने। 

अन्य नेताले भने पहिले सहमति गरेर विवादलाई स्थायी कमिटी बैठकमा लैजानुपर्ने बताएका थिए। 

नेताहरुबीच जनैपूर्णिमाको शुभकामना आदानप्रदानपछि मंगलबार पुनः बैठक गर्ने सहमति भएको थियो।

बालुवाटार बैठकअघि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु खनाल र माधवकुमार नेपालबीच खुमलटारमा करिब डेढघण्टा छलफल भएको थियो। 

आइतबार भएकाे प्रधानमन्त्री ओली, प्रचण्ड र खनालबीचकाे छलफल पनि सकारात्मक रहेकाे बताइएकाे छ।

गत साउन १३ गते बोलाइएको नेकपा स्थायी कमिटी बैठक निकै तिक्त बनेको थियो। त्यसयता दुई अध्यक्षबीच छलफल हुन सकेकाे थिएन। ओलीले एकलौटी बैठक स्थगित गरिदिएपछि प्रचण्ड र नेपाल पक्षका नेताहरुको बेग्लै बैठक बसेको थियो। बहुमत सदस्यको सोही बैठकले ओलीसँग छलफल गरेर छिटो बैठक राख्ने पहलकदमी गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो।

नेकपाकाे विवादकै कारण गत असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पटक-पटक स्थगित हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published.