असारमा निष्काशित साधना लघुवित्तको अधिकांश सूचकमा उल्लेख्य सुधार

सेयर गर्नुहोस्

असारमा आईपीओ निष्काशन तथा बिक्री गरी हाल नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकहरुमा उल्लेख्य सुधार भएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ४ करोड २ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे २ गुणा अर्थात १५१ प्रतिशत बढी हो। सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी बढेसँगै उल्लेख्य खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफा बढेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी करिब ३ गुणा अर्थात १९६.६८ प्रतिशत बढेर १३ करोड ७३ लाख ४४ हजार रुपैयाा पुगेको छ भने सञ्चालन मुनाफा ४१.६६ प्रतिशत बढेर ३ करोड ५७ लाख ९७ हजार रुपैयाँ पुगेको छ। सञ्चालन खर्चहरु बढेको र निष्क्रिय कर्जा बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा बढी रकम छुट्याउनु परेका कारण खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा बढ्न नसकेको छ। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.१६ प्रतिशतबाट बढेर ०.६८ प्रतिशत पुगेको छ। त्यसैगरी, सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ५ करोड ४० लाख २५ हजार रुपैयाँ छुट्याएको छ। लघुवित्तले सो अवधिसम्ममा २ करोड ७५ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ।

७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्काशत गरी २१ करोड ७७ लाख ८० हजार रुपैयाँ चुक्ता पूँजी पु¥याएको यस लघुवित्तको जगेडा कोषमा ६ करोड १२ लाख ६८ हजार रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको जगेडा कोषमा २ करोड २३ लाख रुपैयाँ रहेको थियो।

असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब २२ करोड ७८ लाख रुपैयाँ सापटी र ४५ करोड ५३ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७१ करोड ६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ८४ करोड ६६ लाख रुपैयाँ सापटी २८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १८ करोड १५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

वित्तीय विवरण अनुसार लघुवित्तको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ १३ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर कुल सम्पत्तीका मूल्य ९१७ रुपैयाँ ९० पैसा रहेको छ।