विराटनगर, साउन १७
विराटनगरको न्युरो हस्पिटलका एक चिकित्सकलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
न्युरोमा कार्यरत एक मेडिकल अफिसरलाई कोरोना पोजेटिभ देखिएको हो । उनी हस्पिटलको इर्मजेन्सीमा कार्यरत थिए । तीच चिकित्सकलाई संक्रमण पुष्टि भएपछि इर्मजेन्सी कक्ष सिल गरिएको हस्पिटलले जनाएको छ । उनी विराटनगरकै विराट नर्सिङमा पनि काम गर्थे ।
विराट नर्सिङका सञ्चालकसमेत रहेका चिकित्सकलाई संक्रमण भएपछि कन्ट्याक ट्रेसिङको आधारमा स्वाब संकलन गरेर पिसिआर गर्दा न्युरोमा पनि कार्यरत चिकित्सकलाई कोरोना पोजेटिभ देखिएको हो । ती चिकित्सकलाई शुक्रबार राती नै धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
यस्तै कोरोना भाइरस बढ्दै गएको भन्दै नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखा बिराटनगरले सम्पूर्ण अस्पताल, नर्सिङ्ग होम, मेडिकल कलेज, आँखा अस्पताल, निजी क्लिनिकहरुमा समेत आकस्मिक सेवा बाहेकका अन्य सेवाहरु बन्द गर्न भनेको छ ।
संघले शनिबार विज्ञप्ती जारी गरी कोरोना भाइरसको संक्रमण चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा ट्राभल हिस्ट्री नभएका संक्रमित भेटिरहँदा समुदायसम्म पुगिसकेको अवस्था रहेको भन्दै आकस्मिक सेवा बाहेकका अन्य सेवाहरु बन्द गर्न भनेको हो ।
विज्ञप्तीमा चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुमा समेत संक्रमण देखिरहेको अवस्थामा सम्पूर्ण अस्पताल, नर्सिङ्ग होम, मेडिकल कलेज, आँखा अस्पताल, निजी क्लिनिकहरुमा समेत आकस्मिक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरी घरबाटै टेलिफोन तथा अन्य प्रविधिमार्फत विरामीहरुलाई स्वास्थ्य परामर्श प्रदान गर्न भनेकाे छ ।
संघका अध्यक्ष फरर्वाड सिलवालद्वारा हस्ताक्षरित विज्ञप्तीमा सम्पूर्ण सर्वसाधारण जनताहरुमा पनि हाल यस विषम परिस्थितिलाई मध्यनजर गर्दै आकस्मिक बाहेकका अन्य सेवाका लागि स्वास्थ्य केन्द्र नजानका लागि समेत अनुरोध गर्दछौं भनिएको छ ।