विराटनगरकाे काेराेना धेरै हेलचेक्राइ

सेयर गर्नुहोस्

  विराटनगर, साउन १७

औषधि व्यवस्था विभाग काठमाडौंबाट सरुवा भएर आएका एक चिकित्सक १ साउनदेखि कोसी अस्पतालमा हाजिर भए । आउँदै उनलाई सञ्चो थिएन । केही दिन पछि उनलाई रुघाखोकी र ज्वरोको लक्षण देखियो । तर उनी अस्पताल आइराखे । बिहीबार पीसीआर परीक्षण पछि प्रशासन फाँटका एक अधिकृतले उनलाई घरमै आराम गर्न पठाए ।

शनिबार रिपोर्ट आउँदा उनमा कोरोना पोजिटिभ देखियो । तर, धेरै ढिलो भइसकेको थियो । त्यस यता शुक्रबारसम्म अस्पतालका थप ४ मा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । उनी काठमाडौंबाटै संक्रमित भएर आएको हुनुपर्ने अस्पतालले जनाएको छ । ड्युटि गरिरहेका उनले यो बीचमा मास्क नै नलगाइ अस्पतालको प्रयोगशाला प्रमुख, स्वास्थ्यकर्मी र कर्मचारीसँग बसेर घण्टौं कुरा गरेको अस्पतालले जनाएको छ । उनीसँग निकट सम्पर्कमा आएका सबैको आइतबारदेखि कोभिड–१९ परीक्षण भइरहेको छ । तर उनीहरुको रिपोर्ट नआउँदै कोसी अस्पताल र विराट नर्सिङ होममा कार्यरत स्टाफ नर्समा समेत सोमबार कोभिड–१९ पुष्टि भए पछि थप समस्या उत्पन्न भयो ।

कोरोना भाइरसबाट उक्त नर्सिङ होमका सञ्चालक डा.ज्ञानेन्द्र कार्की संक्रमित भएको पुष्टि भए पछि उनको सम्पर्कमा आएकाको पनि स्वाब परीक्षण भएको थियो । थप परीक्षण पछि आएको रिपोर्टमा ति नर्ससहित उक्त होमका ६ संक्रमित भेटिए । कार्की भने अहिले काठमाडौंको शिक्षण अस्पतालमा उपचार गराइ राखेका छन् ।

‘ती स्टाफ नर्स यहाँ बाहेक आंशिक रुपमा विराट नर्सिङ होममा पनि कार्यरत थिइन्, त्यही स्वाब परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो,’कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.चुमनलाल दासले भने,‘रिपोर्ट आउनु अगाडि एक दिन मात्र कोसी अस्पताल आएकी उनी घरमै आराम गरिरहकी थिइन् ।’ ती नर्ससँग सम्पर्कमा आएका सबैलाई क्‍वारेन्टाइनमा राखेर पीसीआर परीक्षण भइरहेको उनले जानकारी दिए ।

तर बुधबार बहिरंग सेवाका इन्चार्जसहित दुई जना र शुक्रबार एक जना संक्रमित देखिए । अस्पतालमा बिहीबारै बसेको आकस्मिक बैठकले अनिश्चितकालका लागि ओपीडी सेवा बन्द गर्ने निर्णय गर्‍यो । ‘अस्पतालमा आइपुग्ने हजारौं बिरामी र स्वास्थ्यकर्मीको स्वास्थ्यहितकालागि यो जरुरी थियो,‘डा.दासले भने,‘बहिरंग विभागमा जीवाणुनासक औषधि छर्किने र बिरामी जाँच कोठामा स्प्रे गर्ने काम सकिएको छ, थप स्वास्थ्यकर्मीमा संक्रमण देखिएन भने शीघ्र ओपीडी सेवा सञ्चालन हुन्छ ।’

ती चिकित्सक र स्टाफ नर्सको सम्पर्कमा आएका १ सय ५० जनाको स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ । यीमध्ये उनीहरुको निकट सम्पर्कमा आएका प्रयोगशाला प्रमुखसहित १४ जना आइतबारदेखि क्‍वारेन्टाइनमा बसिरहेका छन् भने पछिल्लो संक्रमितको सम्पर्कमा आएका ६ जनालाई शुक्रबार क्‍वारेन्टाइनमा पठाइएको अस्पतालले जनाएको छ ।

कोसीका ती चिकित्सकसहित पाँचै जना संक्रमितको कोभिड–१९ अस्पतालमा उपचार भइरहेको छ । रिपोर्ट नेगेटिभ आएपनि ती चिकित्सकको सम्पर्कमा आएका प्रयोगशाला प्रमुखसहित ७ कर्मचारी र ती नर्सको सम्पर्कमा रहेका प्रसूतिकासहित स्वास्थ्यकर्मीलगायत १४ जनालाई स्थानीय एक होटेलको क्वारेन्टाइनमा राखिएको छ । जिल्ला जनस्वास्थ्यले स्वास्थ्यकर्मीका लागि होटेलमा क्वारेन्टाइन बस्ने व्यवस्था गरेको हो । कोसीका संक्रमित चिकित्सकको श्रीमती र बच्चा पनि होम क्वारेन्टाइनमा छन् ।

अहिले कोसी अस्पताल र विराटनगरभरि त्रासको माहोल छ । विराटनगरमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । ६ साउनसम्म २९ मा सीमित संक्रमितको संख्या अहिले सय नाघेको छ । यो १० दिनभित्र बाँकी थपिएका हुन् र थपिंदै छन् । यसमा यात्रा विवरण नखुलेका ५० भन्दा बढी संक्रमित छन् ।

विदेश जान र घरबेटीलाई देखाउने प्रयोजनका लागि सशुल्क अहिलेसम्म पीसीआर परीक्षण गर्ने १ सय २ जनामध्ये १ जनामा समेत संक्रमण देखिएको सूचना अधिकारी विष्णु बहादुर बुढाथोकीले बताए । चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित भएर कोभिड–९ अस्पतालमा भर्ना हुने र क्वारेन्टाइनमा बस्ने क्रम बढिरहेकोले सेवा समेत प्रभावित भइरहेको उनले बताए ।

यो अस्पतालमा सामान्य अवस्थामा दिनहुँ औसत १ हजार २ सय बिरामी आउँछन् भने चिकित्सक, स्वास्थ्यकर्मी एवं प्रशासनिक जनशक्तिसहित झन्डै ५ सय कर्मचारी कार्यरत छन् । ओपीडी बन्द हुनुअघि समेत दिनहुँ ६ सय बिरामी आइरहेको बुढाथोकीले बताए । ‘अरुको उपचार गर्नेकै स्वाब संकलन, परीक्षण, उपचार र क्वारेन्टाइन व्यवस्थापनमा लागे पछि सेवा त प्रभावित हुने नै भयो,’बुढाथोकीले भने,‘स्वास्थ्यकर्मीहरु १४ दिन क्वारेन्टाइनमा बस्न थालेपछि अस्पताल व्यवस्थापनमा समस्या भइरहेको छ, सम्पूर्ण सावधानीकासाथ थोरै कर्मचारीबाट भए पनि आकस्मिक सेवा र फिभर क्लिनिक सञ्चालन गर्दैछौं ।’

आइतबारदेखि चिकित्सक एवं कर्मचारीले हाजिरी गर्नुअघि अस्पतालको प्रशासनिक भवन बाहिर जडान गरिएको धारामा अनिवार्य हात धुनुपर्छ । भित्र प्रवेश गर्दा अस्पतालकै स्टाफले एक अर्कालाई नछोइ बोल्नु पर्छ र काम गर्नुपर्छ । सेवाग्राहीबाट टाढा रहुन् भनेर संक्रमित चिकित्सक एवं नर्सको सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा पठाइँदैछ ।

‘मेरो कार्यालय कोठाको प्रवेशद्वारमै उभिएर ती डाक्टर सा’बले आफूलाई ज्वरो र रुघाखोकी छ भनेर सुनाउन बितिकै घर जानुस् भनेर सल्लाह दिएँ,’सूचना अधिकारी बुढाथोकीले भने,‘बाँकी हामी मिलाउँछौं भनेर सम्झाएँ तर ट्राभेल हिस्ट्री भएका ती चिकित्सकको लापरबाहीले पुरा अस्पताल समस्यामा पर्यो ।’

यस्तो लापरबाही गर्ने उनी मात्र होइनन् । स्थलगत रिर्पोटिङको क्रममा अस्पताल पुग्दा अन्य चिकित्सकहरुले पनि मास्क नलगाइ सेवा दिइरहेका भेटिए । मेसु दासले मास्क नलगाउने तीन वरिष्ठ चिकित्सकलाई मौखिक स्पष्टिकरण सोधेका छन् । ‘सबै विभागीय प्रमुख मार्फत मातहतका चिकित्सकलाई कम्तिमा सर्जिकल मास्क लगाउन निर्देशन दिएको छु,’उनले भने,‘आफैं पनि अनुगमन गर्दैछु ।’

भारतबाट लुकिछुपी आउने बाहेक सुरक्षाकर्मी, नागरिक समाज, उद्योगीव्यवसायी, चिकित्सक एवं स्वास्थ्यकर्मीबाट सामाजिक व्यवहारजन्य त्रुटि नै कोभिड–१९ समुदायसम्म पुग्ने कारण भएको विज्ञहरुले बताएका छन् । खानपिन एवं नियमित चेकजाँचको क्रममा लापरबाहीले सुरक्षाकर्मीहरु संक्रमित भएको हुनसक्ने विराटनगरस्थित कोभिड–१९ अस्पतालका संयोजक ज्ञानबहादुर बस्नेतले बताए ।

‘संक्रमितको संख्या बढ्यो भने सतर्क हुने र कम भए पछि बेवास्ता गर्ने सोच छ, चेकजाँचको क्रममा सही ढंगले मास्क नलगाउने तथा उनीहरुले खाने क्यान्टिन र मेसको सरसफाईमा पनि त्रुटि भएको हुनसक्छ,’उनले भने,‘नागरिक समाज एवं स्वास्थ्यकर्मीको हकमा पनि संक्रमण फैलिने यस्तैयस्तै कारणहरु हुन् जस्तो लाग्छ ।’

बस्नेतका अनुसार समग्र परिवेशका मूल्यांकन गर्दा एक्कासी संख्या बढिरहेको हुनाले यो समुदायमा छिरेको अवस्था हो । ‘तर, टोल र बस्ती स्तरबाट नागरिक समाज सचेत भयो भने फैलिन दिनबाट रोक्न सकिन्छ,’उनले भने ।

विराटनगरको हकमा वडास्तरमा ‘स्क्रिनिंङ र स्याम्पलिङ’ गर्नुपर्ने अवस्था आएको संयोजक बस्नेतले बताए । ‘सकेसम्म सबैको र नभए हरेक वडाका केही व्यक्तिको परीक्षण गर्दा पनि वास्तविक स्थिति थाहा हुन्छ,’उनले भने ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा.सुरेशप्रसाद मेहताले थप विस्तार हुन नदिनलाई ट्रेसिङ, टेस्टिङ र उपचारमा कमी हुन नदिएको बताए । ‘स्थानीयबासी पनि मर्निङ र इभनिङ वाक भन्दै मास्क नलगाइ हिँडनु भएन, भीडमा जानु भएन,’उनले भने,‘उद्योगव्यसाय सञ्चालन गर्नुस्, काममा जानुस् तर मास्क लगाएर जानुस्, सेवाग्राहीलाई पनि लगाउन भन्नुस्, सके टाढा बसेर कुरा गर्नुस् ।’