विराटनगर, साउन १७
सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेल कुटिएका छन् । भ्रष्टाचार विरोधी अभियान्ताको छबि बनाएका उप–सचिव सञ्जेल शनिबार कार्यालयमा कुटिएका हुन ।
श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा ११ बजेतिर महिला कर्मचारीले कुटपिट गरेको प्रहरीले बताएको छ । सञ्जेललाई कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालाले कुटपिट गरेका हुन ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि श्रम कार्यालयका प्रमुखमाथि आक्रमण भएको बताए ।
सञ्जेलमाथि टेबुलमाथि राखेको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिनलगायत प्रहार भएको प्रहरीले बताएको छ । दुवै जना कार्यालयका करारका कर्मचारी हुन् । एपसी खड्काले कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
कुटपिटबाट सञ्जेलको निधार लगायत अनुहारका विभिन्न भागमा चोट लागेको छ ।