साैराहाका हाेटल आजबाट खुले

सेयर गर्नुहोस्

चितवन, साउन १५

पर्यटकीय क्षेत्र सौराहाका होटल आजबाट खुलेका छन् । क्षेत्रीय होटल संघ, (हान) सौराहा चितवनको बैठकले मंगलबार आवश्यक सावधानी अपनाएर होटल चलाउने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमण विश्वव्यापी रूपमा तीव्र भएसँगै गत चैत १० देखि सौराहा क्षेत्रका होटल र सबैखाले पर्यटकीय गतिविधि बन्द भएका थिए ।

‘सरकारको निर्णय पनि साउन १५ बाट होटल खोल्ने भन्ने छ । हामीले पनि होटल सञ्चालन गर्ने निधो गरेका हौं । सौराहाका अन्य सरोकारवालालाई पनि राखेर यो निर्णय भएको हो,’ हान चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले भने । चितवन राष्ट्रिय निकुञ्ज उत्कृष्ट पर्यटकीय गन्तव्य हो । यहाँ रहेका दुर्लभ वन्यजन्तु एकसिँगे गैंडा, पाटे बाघलगायत जनावर, जलचर र पन्छी हेर्न देशविदेशबाट वर्षमा दुई लाखको हाराहारीमा पर्यटक चितवन आउँछन् । त्यसमध्ये ९० प्रतिशत पर्यटक सौराहा बस्छन् । हात्ती चढेर जंगल घुम्ने, डुँगा सयर, जिप सफारी, जंगल वाक यहाँका मुख्य पर्यटकीय गतिविधि हुन् ।

होटलहरूले कोभिडसम्बन्धी जानकारी पर्यटकलाई उपलब्ध गराउन अनिवार्य रहेको हान सौराहाका महासचिव गुणराज थपलियाले बताए । होटलमा बास बस्ने पर्यटकको ज्वरो नाप्नुपर्ने, हात धुने साबुन वा सेनिटाइजरको प्रबन्ध गर्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने, ग्राहकको फोन नम्बर र विवरण राख्नुपर्ने, ज्वरो आएका व्यक्तिलाई स्वास्थ्य चौकीमा तत्काल पठाउनुपर्ने जस्ता निर्देशन हानले दिएको छ । थोरै कामदार राखेर होटल खुल्न लागेका हुन् ।