नेकपामा विवाद बढ्दै, ओली फकाउने जिम्मा प्रचण्डलाइ

सेयर गर्नुहोस्

काठमाण्डाै, साउन १३

केपी ओली पक्षइतरका स्थायी कमिटी सदस्यहरुको बैठकले छिटो बैठक राख्ने पहलकदमी लिने जिम्मा प्रचण्डलाई दिएको छ।

‘यस बिषम परिस्थितिमा पार्टीको एकता र विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी बैठक सुचारु गर्न पार्टी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय बैठकले गर्‍यो’, बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

बैठकले केपी ओलीले बैठक स्थगित भएको सूचना प्रशारित गर्नु उचित नभएको ठहर गरेको छ। ‘आजको स्थायी कमिटीको बैठको मिति र समय यसअघिको स्थायी कमिटीको बैठकले नै निर्णय गरेको थियो’, उनले भने, ‘आजको बैठक केपी शर्मा ओलीले विधि विपरित स्थगित भएको सूचना प्रशारित गर्नु उचित थिएन।’

बैठकमा २९ स्थायी कमिटी सदस्य र दुई जना आमन्त्रित सदस्य सहभागी भएको श्रेष्ठले बताए।

यसका साथसाथै पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि पद्धित सम्मत ढंगले अगाडि बढाउन र पार्टीको वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिन योगदान पुर्‍याउनका लागि पार्टीका सबै नेता तथा कार्यकर्ता सदस्यहरुलाई आआफ्नो ठाउँबाट भूमिका खेल्न आह्वान पनि गरेको छ।

आजको बैठकअघि पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाल केपी ओलीलाई भेट्न गएका थिए। त्यहाँ प्रचण्ड र झलनाथ खनालले ओलीलाई बैठकमा उपस्थित हुन र बैठकलाई अगाडि बढाउन अनुरोध गरेको श्रेष्ठले बताए। ‘उहाँले त्यसलाई स्वीकार गर्नुभएन’, उनले भने।