विराटनगर, साउन १३
कोरोना संक्रमित व्यक्ति रिपोर्ट लिन विराटनगर महानगरपालिकाको कार्यलयभित्र पुगेपछि कर्मचारीकाे भागाभाग भएको छ ।
मंगलबार संक्रमण पुष्टि भएका व्यक्ति दिउँसो कार्यालय समयमा प्रवेश गरेपछि भागाभाग भएको हो ।
रिपोर्ट लिन आएका व्यक्ति सिधै स्वास्थ्य महाशाखामा पुगेका थिए । कर्मचारीले लिष्ट हेर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको देखिएपछि भागाभाग भएको हो ।
विराटनगर महानगरपालिका जनस्वास्थ्य निरीक्षक हैदर अलीका अनुसार संक्रमण पुष्टि भएका व्यक्ति आएपछि उनलाई कोभिड १९ अस्पताल पठाइएको छ ।
महानगरपालिका स्रोतका अनुसार कोरोनाको रिपोर्ट लिन आउने व्यक्ति विराट नर्सिङहोम (विराटनगर अस्पताल) का सञ्चालकको घरमा काम गर्ने कामदार हुन् । उनी दिउँसो करिब १२ बजे विराटनगर बजार हुँदै रिपोर्ट लिन पुगेका थिए ।
संक्रमित व्यक्ति रिपाेर्ट लिन पुगेपछि महानगरपालिकाले सूचना निकालेर पाँच दिनपछि मात्र रिपाेर्ट लिन सम्बन्धित वडा कार्यालय र प्रयाेगशालमा जान आग्रह गरेकाे छ । मंगलबार मात्र विराटनगरमा १६ जनामा संक्रमण पुष्टि भएकाे छ । ती मध्ये ७ जना विराट नर्सिङहाेममा कर्मचारी हुन ।