कन्काई पस्याे बस्तिमा, फेरि बाँध भत्कायाे

सेयर गर्नुहोस्

झापा, साउन १३

कन्काई नदीमा आएको बाढीले पश्चिम किनारतर्फको बाँध पनि भत्काएको छ । झापाको शिवसताक्षी नगरपालिका–४ र गौरीगन्ज गाउँपालिका–१ को सिमाना विश्वडुब्बा बस्तीको बाँध मंगलबार बिहान भत्किएको हो ।

सातादेखि लगातार कटान भइरहेको उक्त स्थानमा करिब ४ सय मिटर बाँध भत्किएको गैंडेस्थित जनताको तटबन्ध कार्यालयका प्रमुख कैलाश श्रेष्ठले जानकारी दिए । बाँध भत्किँदा नजिकैका ३० परिवार डुबानको उच्च जोखिममा परेको जिल्ला प्रहरीका डीएसपी राकेश थापाले बताए । कन्काई नदीले ९ दिनयता तीन स्थानमा तटबन्ध भत्काइसकेको छ भने ९ स्थानका बाँधमा क्षति पुर्‍याएको छ ।

साउन ५ गते झापा गाउँपालिका–२ सडकबारीस्थित तटबन्ध भत्किएको थियो । ३ सय मिटर बाँध भत्काएर बस्ती पसेको कन्काईले सडकबारी र मिलनबारीका गरी १ सय ५ घर डुबानमा पारेको थियो । एक हजार बिघाभन्दा बढी धानखेतीमा क्षति पुर्‍याएको छ ।

त्यस्तै कन्काईले साउन ८ गते राति झापा गाउँपालिकाकै ७ नम्बर वडाको राईगाउँस्थित तटबन्ध पनि भत्काएको थियो । तटबन्धको करिब ३ सय ५० मिटर क्षेत्र कटान गरी कन्काई बस्तीतर्फ मोडिएको हो । ‘कन्काईले लगातार बाँध फुटाइरहेको छ । रोकथामको प्रयास गरिरहेका छौं । तर, सफल हुन सकिरहेका छैनौं,’ श्रेष्ठले भने ।