सुनिल थापा आज कांग्रेस प्रवेश गर्दै

सेयर गर्नुहोस्

काठमाण्डाै, साउन १३

राप्रपा परित्याग गरेका पूर्वमन्त्री समेत रहेका नेता सुनिलबहादुर थापा आफ्नो समूहसहित मंगलबार नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन्।

शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै थापाको नेतृत्वमा राप्रपाका विभिन्न तहका नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेको घोषणा गरेका थिए। मंगलबार थापालगायतका नेतालाई सभापति शेरबहादुर देउवाले कांग्रेस प्रवेश गराउने भएका हुन्। थापाले आफू निशर्त रुपमा कुनै पदको बार्गेनिङ नगरी कांग्रेस प्रवेश गर्न लागेको बताए।

लोकतन्त्रनमा खतरा उत्पन्न भएकाले त्यसको रक्षाका लागि कांग्रेसलाई बलियो बनाउँदै अघि बढ्नुपर्ने महसुस गरेर पार्टी प्रवेश गर्न लागेको उनले जानकारी दिए।

थापाले भने, ‘म निशर्त रुपमा कांग्रेसमा जाँदै छु। लोकतन्त्र खतरा उत्पन्न भएको छ। कांग्रेसलाई बलियो बनाएर नै लोकतन्त्र बचाउन र कम्युनिष्ट विरुद्ध लड्न सकिन्छ।’

उनले कांग्रेस सभापतिसँग कुनै पद नमागेको दाबीसमेत गरे। ‘हामीले कुनै पद लोभ गरेका छैनौँ। पदकै लागि हो भने त हामीहरुलाई राप्रपामै डोको भरीको पद दिन्छु भन्नु नै भएको छ नि। उहाँहरुले दिनुभयो भने ठीकै छ, थापाले भने। तर सभापति देउवा निकट स्रोतका अनुसार थापालाई सहमहामन्त्री बनाउने सहमति भएको छ।

उनी पूर्वप्रधानमन्त्री एवं राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा हुन्। थापाले राप्रपाले राप्रपामा लोकतन्त्रिक चरित्र र धार सकिएकाले त्यहाँ बसिरहनु उपयुक्त नहुने टिप्पणी गरे।

शनिबार थापासहित प्रवक्ता किरण गिरी, केन्द्रीय सदस्यहरु दिलीप राई, आशाराम चौधरी, चतुरमान विश्वकर्मा र उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्यहरू थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, पदमबहादुर बस्नेतलगायत ३१ जनाले सामूहिक राजीनामा दिएका थिए।