काेशी अस्पतालकाे पीसीआर मेसीन बिग्रियाे, परिक्षण गर्न समस्या

सेयर गर्नुहोस्

विराटनगर, साउन १

विराटनगरको कोशी अस्पतालले कोरोनाभाइरस कोभिड १९ को स्वाब परीक्षण गर्ने पीसीआर मेशिनमा समस्या देखिएपछि मर्मतका लागि काठमाडौँ पठाउने भएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार केहीदिन यता पीसीआर मेसिनमा प्राविधिक समस्या देखिएपछि मर्मतका लागि केन्द्रीय राजधानी पठाउन लागिएको हो।

सोमबारसम्म सो मेसिनको समस्यालाई सक्दो हल गर्दै नमूना परीक्षण गरिएको बताएका मेसु डा.दासले मेसिनबाट धेरै समस्या देखिएपछि मर्मतका लागि काठामाडौँ लैजाने तयारी गरिएको जानकारी दिए।

मंगलबार ममर्तका लागि काठमाडौँ पठाउने तयारीमा रहेको बताएका उनले विराटनगरको एक औषधि सप्लायर्सबाट केही समयका लागि अर्को मेशिन जडान गरि स्वाब परीक्षण कार्यलाई निरन्तरता दिने बताए।

सोमबार दिउँसोसम्म पुरानै मेसिनबाट काम गरिरहेको भए पनि आगामी दिनमा समस्या नआओस् भन्नका लागि नयाँ मेशिन जगेडामा राखेको डा. दासले बताए।

केही वर्षअघि केन्द्र सरकारले एचआइभी एड्सको भाइरस पहिचानका लागि सो मेसिन उपलब्ध गराएको हो । सोही मेसिनबाट हाल कोभिड १९ को भाइरस पत्ता लगाउने कार्य भइरहेको थियो।

अस्पतालको ल्याब शाखाका अनुसार भाइरस पत्ता लगाउने कार्य अटोमेटेड र म्यानुअल्ली तरिकाबाट गर्दै पीसीआरबाट अन्तिम रिपोर्ट आउने गर्दछ।

सो मेसिनले कम्तीमा ७२ वटा स्वाब नमूनामा रिपोर्ट दिने क्षमता रहेको शाखाले जनाएको छ।

अस्पतालको ल्याबमा कार्यरत ७ जना कर्मचारीले बिहान ८ बजेटबाट निरन्तर बेलुका ११ बजेसम्म दैनिक २ सय ५० वटासम्मको रिर्पोट निकाल्ने गरेको बताँउछन्।

अस्पतालमा कोभिड १९ वा एचआइभी भाइरस परीक्षण गर्ने एकमात्र यही मेसिन रहेको छ।

अस्पतालका अनुसार पछिल्लो केही दिनयता ७२ वटा रिपोर्टका लागि तयार रहँदा मेशिनले १० देखि १५ वटा नमुना पहिचान नगर्ने अवस्था रहेको थियो। जसका कारण सो नमूना पुनः परीक्षण गर्नुपर्ने समस्या रहेको थियो।

यसैबीच, कोशी अस्पतालको सुत्केरीपछि बच्चासहित राखिने पोष्ट न्याटल वार्डमा कार्यरत एक स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएपछि वार्ड सिल गरिएको मेसु डा. दासले जानकारी दिए।

यसबीच सो वार्डमा कार्यरत ३२ जना कर्मचारीको स्वाब नमूना संकलन गरिएको छ । जसअन्र्तगत वार्डमा दुईसिफ्टमा कार्यरत २० जना नर्सिंग स्वास्थ्यकर्मी र १२ जना सहायक अन्य कर्मचारीको स्वाब संकलन गरिएको दासले बताए।