भक्तपुर, साउन ११
धेरै ठाउँमा पदका लागि झगडा पर्छ, वरिष्ठ हुँदाहुँदै पनि पद पाइनँ भन्ने गुनासो पनि सुनिन्छ। तर, भक्तपुर चोंछेका ७३ वर्षीय गोविन्द दुवाल भने यसको अपवाद हुन्। किनकि, २०४३ सालमा तत्कालीन राष्ट्रिय पञ्चायतको सदस्य बनिसकेका दुवाल यतिबेला भक्तपुर नगरपालिका वडा नम्बर ६ को वडा सदस्य छन्। वडा सदस्यका रूपमा उनी जनताको सेवामा तल्लीन छन्।
‘काम गर्न ठूलै पद चाहिन्छ भन्ने छैन,’ टोल–टोलमा जनताको गुनासो बुझ्दै हिँडेका दुवालले भने, ‘तल्लो तहका जनतालाई सानै सेवा गर्न सकें भने त्यो नै राम्रो र ठूलो कुरा हो।’ ठूला कुरा गरेर ठूलो पद ओगट्नुभन्दा सामान्य पदमा बसेर सामान्य जनताको सानो–सानो काम गर्दा ठूलो खुसी मिल्ने अनुभव उनले सँगालेका छन्।
‘टोल–टोलका स–साना समस्या निराकरण गर्ने प्रयास गरेको छु’, यसले आफूलाई निकै सन्तुष्टि मिलेको सुनाउँदै उनले भने, ‘मैले गरेको काम अरूका लागि पनि प्रेरणा बनोस् भन्ने चाहन्छु।’
लामो समय भक्तपुरमा एकछत्र राज जमाएको नेपाल मजदुर किसान पार्टीका सदस्य हुन् दुवाल। २०४३ सालमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यका लागि भएको निर्वाचनमा नेमकिपाबाट चुनाव चिह्न ‘मादल’ लिएर उठेका उनी विजयी भएका थिए। त्यतिबेला वामपन्थी विचार धारण गर्नेहरू निर्वाचनमा भाग लिएर आफूलाई ‘जनपक्षीय उम्मेदवार’ भन्थे। उनले पनि यही विशेषण पहिरिएका थिए।
३४ वर्षअघि नै तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य भइसकेका भक्तपुरका ७३ वर्षीय गोविन्द दुवाल यतिबेला नगरको वडा सदस्य भएर जनताको सेवामा जुटेका छन्। भन्छन्– राजनीति सम्पत्ति कमाउन होइन, जनताको सेवाका लागि हुनुपर्छ।’
मुलुकमा २०४७ सालमा बहुदलीय प्रजातन्त्र पुनर्बहालीपछि दुवाल २०५४ सालमा भक्तपुर जिल्ला विकास समितिको सभापतिमा निर्वाचित भएका थिए। यसरी कहिले सांसद त कहिले जिविस सभापति बनेका उनले यतिबेला वडा सदस्यको जिम्मेवारीमा रहँदा कस्तो महसुस गरेका छन् त ? ‘जनताको काम गर्न ठूलो पद नचाहिने रहेछ। समस्या कति समाधान गर्न सकियो भन्नेचाहिँ ठूलो कुरा रहेछ’, दुई वाक्यमै उनले आफ्नो वर्षौंको अनुभव सुनाए।
विगतमा ठूलो पदमा पुगिसकेका उनलाई अहिले सानो पदमा बसेर काम गर्दा कुनै ग्लानि छैन। जनताको सेवा गर्न पाएकोमा खुसी लागेको बताउने उनी निकै सक्रिय देखिन्छन्। उनी टोल–टोलका समस्या बुझ्छन्, अनि समाधानका लागि जुटिहाल्छन्। पार्टीबाट वडाध्यक्षमै उठ्न अनुरोध आए पनि उनले त्यो पदका लागि अरू साथी नै योग्य ठान्दै आफूलाई सदस्यमा सीमित राख्नु उपयुक्त ठाने।
उनी सकेसम्म टोलका समस्या आफैं समाधान गर्ने प्रयत्न गर्छन्, नसके वडाध्यक्षसम्म पुग्छन्। त्यहाँबाट पनि समाधान नभए मात्र उनी मेयरसम्म समस्या पु-याउँछन्।
विकास निर्माणका काममा पारदर्शी र र जनप्रतिनिधि प्रगतिशील सोचका भएकै कारण यो नगरलाई कतिपयले ‘सदाचारको टापु’ समेत भन्ने गरेका छन्। यही टापुमा निष्ठाका धरोहर जस्तै उभिएका छन् दुवाल। लामो समयसम्म राजनीतिमा सक्रिय रहेका उनले आफ्नो आचरणमा दाग लाग्न दिएका छैनन्। जसको प्रमाणका लागि उनको निवास, जीवनशैली र व्यवहार नै काफी छ। ‘यही हो मेरो घर’, रिपोर्टिङका लागि पुग्दा चोंछेस्थित पुरानो घर देखाउँदै उनले भने, ‘जाऊँ, भित्रै बसेर कुरा गरौं।’
भूकम्पले भत्काएर आधामात्र बाँकी पुरानो घरको ढोकाबाट निहँुरिँदै उनको कोठामा पुगियो। बरन्डामै रहेछ कोठा। त्यो कोठा उनको बेडरुम, डाइनिङ हल र अध्ययन गर्ने कोठा सबै हो। कहिलेसम्म यति साँघुरोमा बस्ने त ? प्रश्न खस्न नपाउँदै उनले भने, ‘म त किसानको अगुवा, सबै किसानको अवस्था यस्तै त हो नि। सबै धनी भए म पनि स्वतः भइहाल्छु क्यारे।’
कोठामाथि बुइँगल रहेछ। बुँइगल पनि निकै होचो। बसेर खाना पकाउँदा पनि टाउको ठोक्किने भएकाले उनकी पत्नी भ¥याङमै बसेर खाना बनाउँदै थिइन्। ‘यिनले पनि मेरो राजनीतिक यात्रामा उत्तिकै साथ दिएकी छिन्’, अप्ठेरोसँग खाना बनाइरहेकी पत्नीलाई देखाउँदै उनले थपे, ‘उनी मेरो कमाइभन्दा पनि सामाजिक काम देखेर खुसी हुन्छिन्।’
फुर्सदमा उनी खेतीकिसानी गर्छन्, तरकारी उब्जाउँछन् अनि खर्पनमा राखेर आफैं बेच्न लैजान्छन्। उनी भन्छन्, ‘राजनीति होइन, किसानी मेरो आयस्रोत हो, त्यसैबाट बिहान/बेलुकाको दाल–भात टर्छ।’
उनी राजनीतिमा कसरी छिरे त ? कारण रहेछन् नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे। २०१६–१७ सालतिर भक्तपुरस्थित बालबोध शान्ति प्राविमा पढ्दारहेछन् दुवाल। बिजुक्छे त्यहाँका शिक्षक रहेछन्। बिजुक्छेको पढाउने शैलीमात्र हैन, अन्य व्यवहारले पनि आकर्षित भएछन् उनी। त्यसपछि बिजुक्छे पथमै लागेको उनले सुनाए।
वामपन्थी राजनीति, त्यो पनि पञ्चायतकालमा। अन्याय÷शोषणविरुद्ध कुरा उठाउँदा, आन्दोलन गर्दा धेरैचोटी कारागार पुगे उनी। कारागारमै रहेका बेला २०२८–२९ सालतिर उनका साइँला छोराको मृत्यु भयो। ‘दुःख त जीवनमा धेरै भयो नि’, उनले भने, ‘तर पनि मजदुर–किसानको हकहितका लागि अघि बढेकाले पाइला अझै रोकिएका छैनन्।’
उनी सधैं जनताकै समस्याप्रति चिन्तित रहन्छन्। जब जनताको कामबाट केही फुर्सद मिल्छ उनी खेत÷बारीमा पुगिहाल्छन्। फुर्सदको समय सदुपयोग गर्दै तरकारी उब्जाउँछन् उनी। आफूले उत्पादन गरेको तरकारी उनी आफू त खान्छन् नै, बढी भएको बेच्छन्। त्यो पनि आफैं खर्पनमा बोकेर बजार लैजान्छन्। ‘यसरी तरकारी खेती नगरे त बिहान÷बेलुका कसरी चुलो बल्छ ?’ आफ्नो गुजाराको रहस्य खोले उनले।
दुवाल चार सन्तानका बाबु हुन्। राजनीति गर्ने आफूसँगै राख्दा दुःख पाउलान् भनेर उनले सबैलाई छुट्याइदिएका छन्। ‘म राजनीति गर्ने मान्छे, सम्पत्ति कमाउन सक्दिनँ, त्यसैले छोराहरूले दुःख पाउलान् भनेर अलग्गै राखिदिएँ’, उनले भने। पार्टीमा रहेर बाँचुन्जेल समाजको हितमा काम गर्ने उनको धोको छ। ‘टुप्पोमा पुगेर फल्दा होस् या जरामा बसेर थाम्दा, दुवैको उत्तिकै भूमिका छ’, उनले भने, ‘जरा दरिलो भएमात्र रुखले फल पनि राम्रो दिन्छ।’ (नागरिक न्युजबाट)