सुनकाे मुल्यमा बर्षभरि रेकर्डै रेकर्ड

सेयर गर्नुहोस्

आर्थिक वर्ष ७६/७७ को पहिलो दिन नेपाली बजारमा सुनको भाउ प्रतितोला ६४ हजार पाँच सय थियो । तर, आर्थिक वर्ष सकिँदा सुनको प्रतितोला मूल्य करिब ९५ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

एक वर्ष अवधिमा मात्रै सुनको मूल्य एक तोलामा करिब ३१ हजार रुपैयाँले बढेको छ । आर्थिक वर्ष ७५/७६ मा सुनको प्रतितोला मूल्य ७ हजार पाँच सय रुपैयाँले बढेको थियो । दुई आर्थिक वर्षमा सुनको मूल्य वृद्धिदर हेर्दा अघिल्लो वर्ष भन्दा गत वर्ष ४.१३३ गुणाले सुनको भाउ आकासिएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका महाचिव धर्मसुन्दर बज्राचार्य आर्थिक वर्ष ७६/७७ मा सुनको मूल्यमा आएको बढोत्तरीलाई सुनको भाउमा भएको रेकर्डको वर्ष मान्छन् ।

‘अघिल्लो वर्ष पनि सुनको मूल्य नबढेको होइन, तर गत वर्ष जस्तो हरेक दिन रेकर्ड कायम त्यो वर्ष थिएन,’ बज्राचार्यले भने ।

एक तोलामै एक वर्षमा ३१ हजारले मूल्य बढ्नु सामान्य नभएको उनको भनाइ छ । सन् २०१९ जुलाई २३ मा सुनको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिऔंस १४२५.५५ डलर थियो । तर, सन् २०२० को जुलाई २३ मा प्रतिऔंस मूल्य १८७८.३० डलर कायम भएको अमेरीकी सुनको मूल्य तोक्ने संस्था वालस्ट्रेटले जनाएको छ ।

सुनको मूल्य बढाउने विश्व घटना

अमेरिका-चीनको विवादको छायाँ नेपालमा के पर्छ र ? भन्ने धेरैको जिज्ञाशा हुन्छ । तर खुल्ला बजार अर्थतन्त्रमा बजार र अन्तराष्ट्रिय व्यपारको छायाँ हरेक देशमा परेको हुन्छ ।

आर्थिक वर्ष ७६/७७ मा सुनको मूल्य आकासिनुको मूख्य तीन कारण यस्तै छन् । पहिलो कारण नेपाली नयाँ आर्थिक वर्षको सुरुआती दिनमा अमेरिका-चीन व्यापार युद्ध जारी थियो । विश्वको आर्थिक महाशक्ति मुलुकहरु एक अर्काविरुद्ध व्यापार निषेधको खेलमा लाग्दा विश्व अर्थतन्त्र तरगिंत बनेको र त्यसको असर सुन बजारमा परेको फाइन्यान्सियल टाइम्सले लेखेको छ ।

व्यापार युद्धको पहिलो चरणमा चिनीयाँ सामानमा अमेरिकाले २५ प्रतिशत भन्सार महसुल लगाउँदा मार्च २३, २०१८ मा सुनको मूल्य ०.१ प्रतिशतले बढेको थियो यतिबेला सुनको अन्तराष्ट्रिय प्रतिऔस मूल्य १३ सय ३० डलर थियो । यही शृखलाकै क्रममा सन् २०१९ को जुन १ मा चीनले अमेरीकी वस्तुमा भन्सारदर बृद्धि गर्दा सुनको भाउ २ प्रतिशतले बढेको थियो ।

अमेरिका-इरान तनाव पनि सुन बजारलाई बढोत्तरी गराउने दोस्रो कारण हो । इरानी सैन्य प्रमुख सुलेमानीको अमेरिकाले इराकमा हत्या गरिदिएपछि बढेको दुई देशबीचको तनावले सुन बजारमा असर पर्‍यो भने सोही तनाव जारि रहेकै बेला कोभिड १९ को महामारी विश्वभर रहृयो र सुनको मूल्य ओरालो झर्नै सकेन ।

अन्तर्राष्ट्रिय घटनाक्रम र सुनको मूल्य

विश्वको सबैभन्दा सुरक्षित लगानीको रुपमा सुनलाई लिइन्छ । एक पुस्ताले अर्को पुस्तासम्मकाद लगि गरिने एउटा महत्वपूर्ण लगानी सुन मात्रै हुने विश्वब्यापी मान्यता छ ।

सन् १९३० को महामन्दी तथा २००८ को विश्व वित्तीय संकटमा मानिसहरुले सेयर बिक्री तथा अन्य तरिकाबाट प्राप्त नगदलाई लगानी गर्ने एउटै मात्रै वस्तु सुन बनाएका थिए ।

संसारभर समान मूल्य भएको र जस्तोसुकै महासंकटमा पनि काम लाग्ने वस्तुको रुपमा पहेलो धातु सुन मात्रै हुने गरेको इन्भेष्टोपेडियाले उल्लेख गरेको छ । महामन्दी, विश्व वित्तिय संकटका बेला डलर तथा विश्व सेयर बजार आरोलो लाग्दा सुनको मूल्य निरन्तर उकालोतिर थियो ।

विश्व अर्थतन्त्रमा हलचल ल्याउने ठूला मुलुकहरुबीच द्वन्द्व, केन्द्रीय रिजर्भ बैंकहरुको ब्याजदर नीति जस्ता कारणले ठूला कम्पनीको सेयर र अन्य सम्पत्तिमा आउने गिरावटको जोखिमले लगानीकर्ताहरु सुनमा लगानी गर्न आर्कषित हुने र यसले अन्य स-सना र नयाँ व्यावसायमा धक्का पुग्ने बीबीसीले लेखेको छ ।

युएस चाइना ट्रेड वारः ‘वीआर अल पेइङ फर दिस’ रिपोर्टमा बीबीसीले जनाएअनुसार लगानी असुरक्षित हुने, मँहगी बढ्ने र रोजगारी गुम्नेसम्मको जोखिम ठूला संकटका समयमा हुने हुँदा सीमित सुनमा असीमित लगानी बढ्ने र यसले सुनको भाउ बढ्न जाने विश्वब्यापी प्रचलन छ ।

अन्तर्राष्ट्रिय बजार र नेपाल सम्बन्ध

नेपालमा सुन उत्खनन तथा उत्पादन हुँदैन । नेपालले विश्वका विभिन्न मुलुकबाट सुन आयात गर्ने भएकाले नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा निर्भर हुन्छ । अमेरिकी वालस्ट्रेट मार्केटको भाउको तुलनामा नेपालमा सुनको भाउ तय गरिन्छ । नेपालमा सुनको मूल्य तय गर्ने जिम्मा नेपाल सुनचाँदी व्यवसायी महासंघलाई मात्रै छ ।

वालस्ट्रेट मार्केटको निश्चित एक समयको मूल्यलाई लिएर त्यसमा भन्सार, बैंकको लागत र नाफा, विदेशी विनिमय दर र व्यावसायीको नाफा जोडेर सुनको मूल्य निर्धारण हुन्छ ।

सुनचाँदी व्यवसायी महासंघमा सुनको भाउ निर्धारण गर्ने एक समिति नै छ ।

आव २०७४/७५ मा नेपालमा औपचारिक क्षेत्रबाट ७ हजार ३ सय १० किलो सुनको भित्रिएको थियो । आव ७५/ ७६ मा नेपाली बैंकले ७ हजार ४ सय ५० किलो सुन नेपाल आयात गरेका थिए ।

भन्सार विभागको तथ्यंकअनुसार आव ७६/७७ मा नेपालमा ११ अर्ब ९६ करोड ८० लाखको सुन भित्रिएको छ । चैत्रपछि सरकारी प्रतिबन्धका कारण अघिल्लो वर्षको तुलनामा १५.६३ प्रतिशतले सुनको आयत घटेको भन्सार विभागले जनाएको छ ।

नेपालमा सुन आयात गर्न नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई मात्रै अनुमति दिएको छ । यस अघि नेपाल बैंकर्स संघको निर्णयअनुसार चक्रीय पालोमा वाणिज्य बैकहरुले दैनिक जम्मा २० किलो सुन आयात गर्ने गरेको थियो ।

तर, २०७६ चैत्र १६ को मन्त्रिपरिषद् बैठकपछि बैंकहरुले दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने व्यवस्था कार्यन्वयनमा आएको थियो ।

प्रतिऔंस २ हजार डलर !

कोभिड महामारीले विश्व अर्थतन्त्र यतिबेला सिथिल छ । सबैभन्दा प्रभावित मुलुकमध्ये अमेरिका पनि अग्रणी छ । अन्तराष्ट्रिय सेयर बजार, कच्चा तलेको मूल्य र प्रभावशाली मुलुकका मुद्राहरु खस्कीदा सुनमा लगानी रुपमा बढ्दो रुपमा रहेको अन्तर्राष्ट्रिय सामाचार संस्थाहरुले जनाएका छन् ।

जसले गर्दा सुनको मूल्य अझै केही समय उकालो लाग्ने प्रक्षेपण गरिको छ । बेलायती ग्लोबल इन्भेष्टमेन्ट स्टाट्रेजिस्ट नामक एक स्वतन्त्र सर्भेले सन् २०२१ को जनावरीसम्म सुनको भाउ प्रतिऔंस २ हजार डलर नाघ्ने प्रक्षेपण गरेको छ ।

अन्तर्राष्ट्रिय बजार ट्रेन्ड हेर्दा सुनको मूल्य नेपाली बजारमा तोलामै एक लाख १० हजारसम्म पुग्ने अनुमान गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हरेक साता रेकर्ड राख्दै अघि बढेको सुनको भाउ लाख कटे आश्चार्य मान्नु नपर्ने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् ।

सामान्य अवस्थामा नेपालमा दैनिक १० किलो सुन बिक्री हुने गरेकोमा बढ्दो मूल्यका कारण बजार शिथिल बनेको महासंघले जनाएको छ ।