सनराइज बैँकमा विवाद, छलफलका लागि राष्ट्र बैंकले बाेलायाे

सेयर गर्नुहोस्

काठमाण्डाै, साउन १०

सनराइज बैंकको सञ्चालक समितिमा भएको विवाद सतहमा पुगेको चर्चासँगै नेपाल राष्ट्र बैंकले यो विषयमा चासो दिएको छ । सञ्चालक र प्रमुख कार्यकारी अधिकृतबीच जागिर छोड्ने र छोडाउनेसम्मको विषयले चर्चा पाएको भन्दै राष्ट्र बैंकले बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई छलफलका लागि बोलाएको छ ।

राष्ट्र बैंकका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार आइतबार बैंकका अध्यक्ष, सञ्चालक र सीईओलाई टेलिफोन गरेर बोलाइएको हो । विवाद बढेर सीईओलाई राजिनामा गर्न दवावसमेत परेको समाचार बाहिरबाटै पाएपछि वास्तविक कुरा बुझ्न आइतबार बोलाइएको ती अधिकारीले बताए ।

‘केही सञ्चार माध्यममा विवाद भएको समाचारहरु छापिएको पायौं, केहिले त सीईओले राजीनामा नै दिएको खबरसम्म लेखिएको रहेछ’ उनले भने, ‘बैंकबाट हामीलाई केहि कुरा आएको छैन, बिवादबारे बाहिर धेरै हल्ला भएपछि सत्यतथ्य के रहेछ भनेर छलफलका लागि बोलाइएको हो ।’

उनले भोलिको छलफलपछि सत्यतथ्य बुझेर राष्ट्र बैंकले आवश्यक निर्णय गर्ने बताए । बैंकको प्रमुख कार्यकारी अधिकृतमा १ वर्ष पहिले जनक शर्मा पौड्याल नियुक्त भएका थिए ।

सुरुमा बैंक सञ्चालक समितिले निरज श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो । तर केही सञ्चालकले निकै असन्तुष्टि जनाएपछि श्रेष्ठले नियुक्ति लिन मानेनन् । पछि पौड्याललाई नियुक्त गर्ने बेलामा भने सबै सञ्चालकको सहमति जुटेको थियो ।

विगत केही महिनादेखि भने बैंकका सञ्चालक मालचन्द दुगडले सीईओ पौड्यालप्रति केहि असन्तुष्टि जनाउँदै आएका थिए । तर, पौड्यालको पक्षमा बैंकका अध्यक्ष मोतिलाल दुगड उभिएका थिए ।

त्यसपछि अध्यक्ष र सीईओ मिलेर कामहरु आफूखसी गर्न खोजिएको आरोप लाग्दै आएको थियो । त्यहिँ विषयको बिवादले उग्र रुप लिँदा सीईओको राजिनामा समेत दुई जना सञ्चालकले मागेका थिए । यो विषय बाहिर आएपछि राष्ट्र बैंकले विाद समाधानका लागि भन्दै छलफलमा बोलाएको हो ।

विवादको विषय भने दुबै पक्षले बाहिर ल्याउन चाहेका छैनन् ।

सीईओ भन्छन्- अचम्ममा छु

बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले सञ्चालक समितिसँग आफ्नो सामान्य मदभेद रहेको भन्दै बाहिर आएको विषय गलत भएको बताएका छन् । केहीदिन यता कतिपय सञ्चारमाध्यमा राजिनामा दिन लागेको त कतिपय सञ्चार माध्यममा राजिनामा दिइसकेको भनेर आएका समाचारहरु निराधार रहेको बताए ।

उनले सञ्चालक समितिमा कुनै ठूलो विवाद नरहेको बताए । कहिलेकाँही भएका केही सामान्य छलफलका विषयहरुलाई लगेर बाहिर हल्ला फैलाइएको सीईओ शर्माले बताए ।

उनले बाहिर फैलिएको हल्लाले आफू अचम्ममा परेको बताए । ‘खै कसरी हल्ला फैलियो म अचम्ममा छु, बैंक राम्रोसँग चलिरहेको छ’ उनले भने, ‘म ४ वर्षका लागि नियुक्ति भएको हुँ, अझै ३ वर्ष राम्रोसँग काम गर्छु ।’

यस अघि बैंकका सञ्चालक शैलेन्द्र गुरागाईंले पनि बाहिर हल्ला भए जस्तो विवाद बैंकमा नरहेको बताएका थिए ।