प्रदेश १ मा समुदायमै फैलियाे काेराेना, परिक्षण न्युन

सेयर गर्नुहोस्

झापा, साउन १०

लापरवाहीका कारण प्रदेश १ मा काेराेना समुदायमा पुगेकाे छ । झापामा एकै पटक १८ जना प्रहरीमा संक्रमण देखियाे, जसकाे ट्राभल हिस्ट्रि समेत छैन । सावधानी नअपनाउदा जाेखिम बढेकाे हाे ।

बुधबार प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कर्मचारीमा कोरोना पोजेटिभ देखियो । सोही दिन विराटनगर अस्पतालका सञ्चालक चिकित्सकलाई पनि संक्रमण पुष्टि भयो ।

बिहीबार प्रदेश प्रहरी कार्यलयमा कार्यरत थप ४ जना प्रहरी जवानलाई संक्रमण पुष्टि भएपछि आइसोलेशनमा छन् । शुक्रबार विराटनगर– ४ का एक पुरुषमा संक्रमण पुष्टि भयो ।

पछिल्लो तीन दिनमा संक्रमण पुष्टि भएका व्यक्तिहरू आइसोलेशनमा छन् । तर संक्रमित व्यक्तीमा काेराेना संक्रमणकाे स्राेत भेटिएकाे छैन् । उनीहरूकाे ट्राभल हिस्ट्री पनि छैन् ।

ट्राभल हिस्ट्री बाहिरको नभएका व्यक्तीलाई संक्रमण देखिएपछि विराटनगरमा समुदाय स्तरमा कोरोना फैलिएको स्थानीय प्रशासनले निष्कर्ष निकालेको छ ।

‘समुदायमा स्तरमा कोरोना संक्रमण पुगिसकेको छ ।’ विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की भन्छन् ‘अब उच्च सतर्कता अपनाउनुको विकल्प छैन् ।’

विराटनगर महानगरपालिकाले शुक्रबारसम्म एक हजार ७ सय ६९ जनाको पीसीआर विधीबाट कोरोना जाँच गरेको छ । ती मध्ये ३८ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमित मध्ये पछिल्लो ७ जनाको ट्राभल हिस्ट्री देखिएको छैन् ।

बाहिर नगएका व्यक्तीमा कोरोना पोजेटिभ देखिएपछि उच्च सतर्कता अपनाउनुपर्ने अवस्था आएको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।

काकडभिट्टा नाकामा कार्यरत प्रहरीमा काेराेना देखिएपछी प्रहरीलाइ फेस शिड दिइएकाे छ ।

बजारमा छैन सतर्कता, लकडाउन गर्नुपर्ने हुनसक्छ

कोरोना संक्रमण समुदायस्तरमा पुगेपनि बजार क्षेत्रमा सतर्कता अपनाइएको छैन् । विराटनगरका बजार पसल र अस्पतालहरुमा सतर्कता नपअनाइएको हो । संक्रमणको जोखिम उच्च रहने बैंकका एटिएम बुथ तथा किराना पसहरूमा सतर्कता नअपनाउँदा महामारी फैलने जाेखिम बढेकाे छ ।

समुदायस्तरमा कोरोना संक्रमण पुगेकाकारण सर्वसाधारणले सतर्कता अपनाउन आवश्यक रहेको जनस्वास्थ्य विज्ञ डाक्टर नवराज सुब्बा बताउँछन् ।

‘पछिल्लो घटनाक्रमले कोरोना समुदायस्तरमा पुगेको देखिन्छ ।’ उनले भने ‘ यस्तो अवस्थामा झन सावधानी अपनाउनु पर्छ ।’

मास्क लगाउने, सावुन पानीले हात धुने, व्यक्तीगत दुरी तथा सरसफाईमा ध्यान दिनुपर्ने उनले बताए ।

‘संक्रमण दर कम भएका कारण राज्यले लकडाउन हटाएको हो ।’ उनले भने ‘समुदायस्तरमा फैलियो भने लकडाउन फेरी गर्नुपर्ने हुनसक्छ ।’

विराटनगरमा थप सुरक्षा सतर्कताका लागि छलफल भइरहेको जनस्वास्थ्य माहाशाखा प्रमुख रमेश कार्कीले बताए । ‘हामी अब कसरी अघि बढ्ने भनेर छलफल गरिरहेका छौं ।’ उनले भने ‘ सम्भवत केही दिन भित्र निर्णय हुनसक्छ ।’

मुख्यमन्त्री भन्छन् – समुदायमा पुगिसक्यो

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोराना भाइरसको संक्रमण समुदायस्तरमा पुगेको बताएका छन् ।

बर्खे अधिवेसनको अन्तिम दिन शुक्रबार प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेशमा कोभिड–१९ समुदायमा पुगेको बताएका हुन् । उनले भने, ‘आजको मितिसम्म आइपुग्दा यो संक्रमण समुदाय स्तरमा पुग्यो भन्ने हामी पुगेका छौं ।’

उनले सीमाक्षेत्र नाका प्रवेश बिन्दुहरूमा नियन्त्रण गरेर समुदायमा जानबाट कोभिडलाई रोक्न सफल रहेको बताए । प्रदेशसभामा शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले पीसीआर परीक्षणको दायरा बढाएर समुदायमा पुर्याउने बताए ।