ओलीप्रति दाहाल फेरि आक्रामक

सेयर गर्नुहोस्

काठमाण्डाै, साउन १०

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सक्रियता र पहलमा निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन परेको बताएका छन्। प्रधानमन्त्री ओलीले अर्ली महाधिवेशनको प्रस्ताव ल्याएपछि सत्तारुढ नेकपाभित्रको विवाद केही मत्थर भएजस्तो देखिएका बेला दाहालले पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा ओलीमाथि यस्तो आरोप लगाएका हुन्।

पार्टीमा बैठक चलिरहेका बेला आयोगमा दल दर्ताको प्रक्रिया सुरु हुनु र देशभरि जिन्दावाद–मुर्दावादको नारा लाग्नुले पार्टी संकटमा रहेको प्रस्ट पार्ने बताउँदै दाहालले थपे, ‘पार्टी संकटमा छ। साँचो कुरा के हो भने अहिले ठीकठाक छ भनेर मैले भनें भने त्यो सत्य होइन।’

प्रधानमन्त्री ओलीले पार्टी सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव राखेसँगै विवाद मत्थर भएको र दुई अध्यक्ष मिलेको चर्चा चलेको थियो। तर अध्यक्ष दाहालले पार्टीभित्र जारी विवाद नसल्टेको स्पष्ट संकेत गर्दै पार्टीभित्र छलफल चलिरहेका बेला देशभरि मुर्दावाद र जिन्दावादका नारा चलेकोप्रति गुनासो पनि गरे। ‘हामी पार्टीमा छलफलमा छौं। पार्टीलाई कसरी एकताबद्ध गर्ने, पार्टीलाई कसरी जोगाउने भन्नेमा हामी छौं,’ दाहालले भने, ‘तर देशभरि जुलुस भएको छ। देशभरिका साथीहरूले हामी के गर्ने भनेर सोधिरहेका छन्, हामीले धैर्य गर्नुहोस्, अहिले केही गर्न पर्दैन, पार्टी एकताको पक्षमा उभिनुस् भनेर भनिरहेका छौं।’

नेपालको अद्यावधिक नक्सा जारी भएको विषयमा कुनै एक व्यक्तिलाई मात्रै जस दिनु न्यायसंगत नभएको बताउँदै दाहालले पार्टीले निर्णय गरेर दबाब दिएका कारणमात्र प्रधानमन्त्री ओली त्यसका लागि तयार भएको बताए। मंसिरमा पार्टी स्थायी कमिटी र माघका केन्द्रीय कमिटीबाट नक्सा जारी गर्नुपर्ने निर्णय गरे पनि सरकारले नक्सा जारी गर्ने होइन, भूमि फिर्ता गर्ने ठूलो कुरा हो भनेर आलटाल गरेको स्मरण दाहालले गरे। अन्तिम समयसम्म पनि नक्सा जारी गर्ने तयारी सरकारले नगरेपछि नीति तथा कार्यक्रम सार्वजनिक हुने दिन बसेको सचिवालय बैठकमा नेताहरूले नक्सा जारी गर्नुपर्छ भनेपछि प्रधानमन्त्री त्यसका लागि तयार भएको बताउँदै दाहाल भने, ‘प्रधानमन्त्री सहमत भएपछि सचिवालय बैठक चलिरहेकै बेला मुख्यसचिवलाई फोन गरेर नीति तथा कार्यक्रममा त्यो विषय थप्न लगाएको हो।’

तर प्रधानमन्त्री ओलीले भने अद्यावधिक नक्सा जारी गरेकै कारण भारत आफूलाई हटाउन लागि परेको धारणा केही साताअघि सार्वजनिक गरेका थिए। वैशाखदेखि टार्दै आएको स्थायी कमिटी बैठक असार दोस्रो साता सुरु भएलगत्तै ओलीले मदन भण्डारीको जन्मजयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा भारत आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागिपरेको आरोप लगाएका थिए।

त्यसपछि बसेको स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसहितका शीर्ष नेताले प्रधानमन्त्रीबाट राजीनामा भारतले नभएर आफूहरूले मागेको बताएका थिए।

शुक्रबारको कार्यक्रममा नेता नेपालले पार्टीभित्रको आन्तरिक विवादलाई संकेत गर्दै विधि पालना नगरेर मै स्टेट हुँ भनेर आफूलाई सर्वोपरी ठान्नेहरू आफैं पतन हुने बताए। ‘हामी कोही त्यस्तो विचार र प्रवृत्तिमा चुर्लुम्म डुबेको छौं भने त्यसबाट उम्कौं, जोगियौं,’ नेता नेपालले भने, समय त छ तर धेरै ढिला हुन थालिसकेको छ।’ विवादले नेता कार्यकर्तामा पार्टी फुट्छ कि भन्ने चिन्ता रहेको भन्दै उनले थपे, ‘कसैले फुटाउन खोज्यो भने चोइटिएर जाला तर कम्युनिस्ट पार्टी फुट्नेवाला छैन।’

नेपाली समाजलाई रुपान्तरण गरेर समाजवादको दिशामा अगाडि लैजाने जिम्मेवारी अहिले कम्युनिस्ट पार्टीको काँधमा आएको धारणा राख्दै उनले भने, ‘धेरै व्यक्तिले त्याग, तपस्या र बलिदानको अनुपम उदाहरण प्रस्तुत गर्नुभएको छ। नयाँ–नयाँ योद्धालाई अगाडि बढ्न उत्प्रेरित र उत्साहित गर्नुभएको छ। राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको विषयलाई बुलन्द गर्दै नयाँ आशाको किरण सञ्चार भएको छ।’

जनताले ठूलो आशा र अपेक्षा गरेर झन्डै दुईतिहाइ मत दिएको जनाउँदै नेता नेपालले भने, ‘अबको प्रश्न भनेको जनताको आशा र अपेक्षा पूरा गर्न सक्छौं कि सक्दैनौं भन्ने हो।’

जनताको भावनाअनुसार पार्टी संगठन र सरकारले काम नगरेको संकेत गर्दै उनले थपे, ‘जनताको भावना र चाहना बुझ्न पार्टी संगठन क्रियाशील छन् कि छैनन् ? कार्यकर्ता परिचालित छन् कि छैनन् ? यी सबै समस्याका विषयमा गम्भीरताका साथ चिन्तन मनन गर्नुपर्ने आवश्यकता छ।’  

पार्टीभित्रको समस्या छलफलबाट समाधान गर्न अधिकतम कोसिस भइरहेको जनाउँदै नेता नेपालले भने, ‘हाम्रा निम्ति व्यक्ति प्रमुख होइन, विधि, नीति, पद्धति प्रमुख कुरा हो। बहुमतको निर्णय नै पार्टीको निर्णय हुनेछ भन्ने कुरालाई सबैले पालना गर्नुपर्छ। म मान्दिनँ भन्ने छुट कसैलाई पनि छैन।’

विधिका आधारमा सामूहिक निर्णय गर्ने र सबैले त्यसलाई पालना गर्ने लेनिनवादी सिद्धान्त पार्टीले अगाडि सारेको जनाउँदै उनले थपे, ‘सबैमा यो चेत पलाउनेछ। आफूलाई अपरिहार्य नठानौं, सबैको बुद्धि, खुबी, क्षमता, योग्यता र आआफ्नो भूमिका सम्झेर अगाडि बढौं र कमीकमजोरी सुधारौं।’ ओलीले पार्टीको बहुमतको निर्णय पनि नमान्ने जनाएपछि सहमतिका नाममा नेकपाको स्थायी कमिटी बैठक एक महिनादेखि पटकपटक स्थगित हुँदै आएको छ।  

यसैबीच प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच बालुवाटारमा छलफल भएको छ। दुई अध्यक्षबीच पार्टीमा विकसित पछिल्लो परिस्थितिबारे छलफल भएको बताइएको छ।